सिमलपानीको विक्रमसोता गाउँ विकास वनको आम्दानीले


वीरेन्द्र केसी कान्तिपुर 
सिमलपानी, अर्घाखाँची – गाउँको विकासका लागि धेरैले सरकारी बजेटको मुख ताक्छन् । वडा, पालिका र मन्त्रालयमा साना योजना माग्न बर्सेनि धाउँदा पनि बजेट भित्र्याउन मुस्किल पर्छ ।
मोटरबाटो, बिजुली, खानेपानी, सिँचाइ मात्र होइन, विपन्न परिवारका लागि घर पनि निर्माण शीतगंगा नगरपालिका–१४ विक्रमसोतामा भने स्थानीय वनबाट आधा करोड रुपैयाँभन्दा बढीको वार्षिक विकास योजना पूरा भएको छ ।
१ सय ११.५५ हेक्टर क्षेत्रफलमा फैलिएको वाणगंगा सामुदायिक वन उपभोक्ता समूहको वनमा यस वर्ष ५२ लाख रुपैयाँको विकास बजेट विनियोजन भएर योजनाका काम भइरहेका छन् । समूहका कोषाध्यक्षले आर्थिक वर्ष सुरु भएपछि वार्षिक बजेट प्रस्तुत गर्छन् ।
त्यसपछि ताली बजाएर समूहबाट योजनालाई अनुमोदन गरिन्छ । हरेक वर्ष हुने साधारणसभामा खर्च र प्रगति विवरण प्रस्तुत गरेर उपभोक्तालाई सुनाइन्छ । ताली बजाएर पास गरिन्छ ।
मोटरबाटो, बिजुली, खानेपानी, सिँचाइ, शिक्षकलाई तलब, बंगुर, कुखुरा, बाख्रा र भैंसीपालनलगायत आय आर्जनका काममा उक्त रकम खर्च गरिएको छ । गाउँका १० विपन्न परिवारका घर वनकै आम्दानीबाट निर्माण भए । अघिल्लो आर्थिक वर्षमा ३६ लाख ३२ हजार रुपैयाँ विकासमा खर्च भएको थियो ।
समूहमा १ सय ५१ घरका ७ सय ९६ जना आबद्ध छन् । ०६४ सालमा सामुदायिक वन दर्ता भएपछि वन संरक्षणमा स्थानीय लागेका हुन् । जंगलबाट उत्पादित काठ, दाउरा र घाँस बेचेर जम्मा भएको पैसाले गाउँको विकास सम्भव भएको हो । ‘वनको आम्दानी बर्सेनि गाउँको विकास निर्माणमा खर्च गरेका छौं,’ समूहकी अध्यक्ष माया बैजालीले भनिन्, ‘अबको बजेटले समूहको भवन बनाउँछौं र सामुदायिक वनलाई वैज्ञानिक बनाउने योजना छ ।’
गाउँमा कहाँ के समस्या छ, कति बजेट राख्नुपर्छ बैठक बसेर छलफल गर्छन् । उक्त प्रस्तावित कार्यक्रम र बजेट समूहको आमभेलाबाट अनुमोदन गरिन्छ । योजनाको बजेट चुहावट हुन पाउँदैन । समूहका पदाधिकारी र सदस्यले हेर्ने हरेक योजनामा अनुगमन संयन्त्र हुने उनले बताइन् ।
विक्रमसोताबाट सदरमुकाम पुग्न झन्डै एक दिन लाग्छ । दुर्गम भएकाले सरकारी बजेट खासै छैन । नयाँ संरचना भएपछि शीतगंगा नगरपालिका कार्यालय पनि टाढै छ । समूहमा योजनाको मागका निवेदन धेरै आउँछन् । ‘आवश्यकता अनुसार काम गरेका छौं,’ अध्यक्ष बैजालीले भनिन् ।
सिँचाइमा १ लाख, सडक मर्मतमा १ लाख ५० हजार, खानेपानीमा २ लाख, कुखुरापालनमा २ लाख ८० हजार, भैंसीपालनमा २ लाख, गरिबी निवारणसम्बन्धी कार्यक्रममा ६ लाख ९० हजार, पावरा मावि र गंगा आधारभूत विद्यालयका शिक्षकलाई तलब दिन २ लाख ५० हजार रुपैयाँ खर्च भएको समूहका सचिव धनबहादुर दर्लामीले बताए ।
वनको झाडी सफाइ, रुखको हाँगाबिंगा सफाइ, अग्नि रेखा निर्माण र सफाइ, गोडमेल र तारबारलगायत वन संरक्षणमा पनि बजेटै छुट्याएर खर्च भएको छ । समुदायका उपभोक्ताले पनि वनको काम गरेर आम्दानी लिएको उनले बताए । प्रशासनिकलगायत यस वर्ष ५२ लाख रुपैयाँ बजेट विकासका काममा खर्च भएको छ । ‘अब वैज्ञानिक वन व्यवस्थापन गरेर सबै उपभोक्तालाई बर्सेनि काम दिएर गाउँलाई स्वरोजगार बनाउने लक्ष्य छ,’ उनले भने ।
वनकै आम्दानीले गाउँमा बिजुली जडान भयो । पिपराबाट मोटरबाटो निर्माण सम्पन्न भएपछि बस, ट्रक र जिप दैनिक आवतजावत गर्छन् । गाउँको उत्पादन तरकारी, खसीबोका गाडीले नै तराई लगिदिएपछि गाउँको मुहार फेरिँदैछ । सडक पिच र ग्राभेल गर्ने योजना समूहको छ ।
सहायक वन अधिकृत जितेन्द्रसिंहखड्काले वाणगंगा वनलाई अब वैज्ञानिक वन व्यवस्थापन बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । ‘वैज्ञानिक भएपछि यसको तेब्बर आम्दानी हुन्छ र उपभोक्तालाई बाह्रै महिना काम पुग्छ,’ उनले भने, ‘वनको आम्दानीबाट गाउँको विकास हुनु उदाहरणीय हो ।’
वडाध्यक्ष दामोदर न्यौपानेले समूहको आम्दानीले विकासमा ठूलो टेवा पुगेको बताए । ‘वडाको बजेट ६० लाख मात्रै छ, त्यसले सबैलाई चित्त बुझ्दो काम गर्न चुनौती छ,’ उनले भने, ‘समूहको ५२ लाख रुपैयाँ बजेटले योजनाका काम गर्दा धेरै सहयोग मिलेको छ ।’
पावरा र विक्रमसोता गाउँको बीचमा वाणगंगा नदी छ । त्यहाँ पुल छैन । बारम्बार सरकारी निकायमा धाउँदा पनि कसैले चासो नदिएको स्थानीयको गुनासो छ । शीतगंगा नगर प्रमुख सूर्यप्रसाद अधिकारीले समूहको बजेटले विकासका काम गरेर राम्रो गरेको बताए । ‘अब प्रधावकारी ढंगले काम गर्ने गरी खर्च गर्नुपर्छ,’ उनले भने, ‘नगरले समूहसँग मिलेरै गाउँको विकासमा अघि बढ्छ ।’
यहाँबाट कपिलवस्तुको ४ नम्बर, पिपरा गाडीबाट आधा घण्टामै पुगिन्छ । अब कृषि, पशुपालन, तरकारी खेती र उत्पादनमूलक क्षेत्रमा लगानी गरेर आत्मनिर्भर बस्ती बनाउन नगरले समूहलाई सहयोग गर्ने नगर प्रमुखले बताए । विक्रम–पावरा गाउँ जोड्ने वाणगंगा खोलामा पक्की पुल निर्माण गर्न डीपीआरको काम सम्पन्न भएकाले अब छिट्टै काम सुरु हुने उनले बताए ।
वन अधिकृत अजयविक्रम मानन्धरले वन विकास, गरिबी न्यूनीकरण र सामाजिक विकासमा खर्च गरेमा सामुदायिक वन उपभोक्ता समूह समृद्ध बन्न सक्ने बताए ।

अन्य समाचारहरु