अर्घाखाँचीका गाउँमा सडक निर्माणले खुसी स्थानीय पानी सुकेपछि दु:खी


वीरेन्द्र केसी कान्तिपुर  
चिदिका, अर्घाखाँची । ०३२ सालमा अर्घाखाँचीको छत्रगन्जस्थित मठेलचौर मुहानबाट बल्कोट, केरुंगा र चिदिका गाउँमा पानी पुर्‍याइएको थियो । त्यो जिल्लाकै ठूलो योजना थियो । त्यसले गाग्री बोकेर कुवा धाउनुपर्ने बाध्यता हटेको थियो । ३ दशक दु:ख थिएन । यी तीन गाउँ सडक सञ्जालमा जोडिए । त्यतिबेला सदरमुकामबाट महिनौं दिन लगाएर कोदालो, गैंती, बेल्चाले गाउँलेले सडक निर्माण गरेर गाडी पुर्‍याए । पछिल्लो समय डोजर भित्रिए । मान्छेले भन्दा छिटो निर्माण हुने भएपछि जताततै बाटो बन्न थाल्यो ।
०६० सालमा साबिकका सबै गाविसमा मोटर पुगेपछि नमुना जिल्ला बन्यो । मढेलचौरको मुहानभन्दा माथिबाट डोजर प्रयोग गरेर बाटो खनियो, त्यसपछि मुहान सुक्यो । गाउँमा सडक निर्माणले खुसी स्थानीय पानी सुकेपछि दु:खी बनेका छन् । छत्रदेव गाउँपालिका १, २, ३ र ४ वडामा पानीको हाहाकार छ । घन्टौं लाइन बसेर एक गाग्री भर्न बिहानभरिको समय खर्चिनुपर्छ ।
‘मुहानमाथिबाट डोजर लगाएर सडक नखनेको भए पानी हराउने थिएन,’ बल्कोटकै चुमा पौडेलले भनिन्, ‘फेरि दु:ख भएको छ । गाग्रीमा पानी बोकिरहेका छौं ।’ गर्मीका बेला कुवामा पानी घट्छ । अड्कलेर पानी खानुपरेको केरुंगाकी गोमा खनालले बताइन् । ‘गर्मीका बेला नुहाउन, कपडा धुन धेरै पानी चाहिन्छ,’ उनले भनिन्, ‘त्यतिबेला खोलामा धाउनुपर्छ ।’
जिल्लाका धेरै मुहानमा पहिलेको जस्तो पानी छैन । मालारानी गाउँपालिका–५ को घाटखोला मुहानबाट कुझेरी गाउँमा पानी ल्याइएको थियो । मुहानमाथि डोजर चलाएर बाटो खनेपछि अहिले पानी सुकेको छ । टोलैपिच्छे सडक बनिरहेका छन् । डोजर चालक नै इन्जिनियर बनेर जमिन भत्काउँछन् ।
दलका नेता, सांसद र स्थानीय अगुवाले कुवा, खानेपानीका मुहान जोगाउन ध्यान दिँदैनन् । धेरै कुवा पुरिएको स्थानीयको गुनासो छ । जिल्लाभर खानेपानीको समस्या छ । ‘बाटो खन्दा पानीको कुवा र मुहानलाई ध्यान दिएको भए पानीको समस्या हुने थिएन,’ छत्रगन्जकी मुना भट्टराईले भनिन् ।

अन्य समाचारहरु