मुक्तिनाथ भुसाल
नरपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको नरपानी क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण छ । मुलुक सङ्घीयता गएपछि के–के न होला भन्ने आशा पालेका यहाँका बासिन्दाहरूले हालसम्म आफुहरूको प्रमुख सामुहिक समस्या सम्बोधन गर्दिने नेता पाउन नसकेको स्थानीयहरूले बताएका छन् । रिडीको कालीगण्डकीबाट पश्चिम–दक्षिणमा रहेको यो पहाडमा दशानन् रावणले देवादिदेव महादेव शिवलाई तान्डप नृत्यद्वारा खुशी बनाई आफूलाई शिवजस्तै शक्तिशाली र हजारौँ वर्ष आयुुुुको बरदान लिएका कारण नरपानी पहाडलाई नर्चनाचल पर्वत उल्लेख गरिएको र यो एउटा धार्मिक स्थलसमेत रहेको कुरा सोमेश्वर, मुक्तिनाथ र त्रिवेणीको ब्याख्या गर्दै जाने क्रममा बराह पुराणमा उल्लेख गरिएको स्वामी सरस्वती कुशलानन्दको भनाई छ ।

जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य सुपादेउराली र नरपानी–खाँचीकोटलाई लक्षित गरी राज्यले २०५४ सालमा ग्लोबल टेन्डर आह्वान गरी २०५५ सालमा भारतीय कम्पनी डाइनेष्टीलाई ३० वर्षका लागि भाडामा दिएअनुसार ०६२ देखि उत्खनन् शुरु गरे पनि स्थानीय आन्दोलनको प्रभाव २०६८ देखि हालसम्म नरपानीमा उत्खनन् बन्द रहेको छ भने खाँचीकोटमा चलिरहेको छ । तत्कालीन श्री ५ को सरकार (मन्त्रिपरिषद)बाट मिति २०६२/२/२५ मा पोखरी तार पहरो समुदायिक वनको २६.३५ हेक्टर र तिनपाखे पाखा सामुदायिक वनको ३१.५ हेक्टर बन क्षेत्र सामुदायिक वनबाट फिर्ता लिई राष्ट्रिय वन कायम गर्दे ५७.८५ हेक्टर तथा १०.५० हेक्टर साविकको राष्ट्रिय वन क्षेत्र गरी जम्मा ६८.३५ हेक्टर राष्ट्रिय वन क्षेत्रको भू–स्वामित्व वन तथा भू–संरक्षण मन्त्रालयमा रहने गरी उपयोग गर्न दिने गरी भएको निर्णय राज्यपक्षबाट खारेज हुनुपर्ने अधिकांश जिल्लावासीको माग रहेको छ ।
राज्यपक्षवाट उत्खनन्का लागि तोकिएको स्थान भन्दा अलिकति पछाडि हालका दिनमा ॐ श्रीकृष्ण गौशालालय देख्न सकिन्छ । उक्त गौशाला धार्मिक युवा नेता नारायणप्रसाद खनालको अदम्य साहस, लगानी र बिशेष सक्रियतामा २०७२ सालमा जिल्लाको लदाममा स्थापना गरिएको भए पनि केही वर्षयता नरपानीवासीको मागअनुसार यहाँ राखिएको हो । करिव डेढ सय स्थानीय जातका गाईलाई पालनपोषण गरिएको यो स्थानमा भाइटीकाको अघिल्लो दिन गाईलाई पूजासहित नुन खुवाउने कार्यक्रम सम्पन्न भएको छ । ॐ श्रीकृष्ण गौशाला निर्माण समितिका अध्यक्ष नारायणप्रसाद खनालको सभापतित्व र पदम केसीको सञ्चालन रहेको उक्त कार्यक्रममा हेभी इक्युपमेन्टका केन्द्रीय उपाध्यक्ष वसन्त भुसालले १ लाख नगद उपलब्ध गराउँदै आगामी दिनमा समेत आफूबाट सहयोग रहने बताएका थिए । धार्मिक, सांस्कृतिक, सामाजिक र भौगोलिक दृष्टिले अत्यन्तै सुन्दर रहेको नरपानी क्षेत्रलाई पुर्वाधारको बिस्तार गरी देशकै नमुना पर्यटकीय गन्तव्य बनाउनु पर्ने सहभागी वक्ताहरूले बताएका थिए ।
यसरी मनत्व्य राख्ने प्रमुख तथा विशिष्ट अतिथिहरूमा प्रदेशसभा सदस्यद्वय चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरे लगायतका नेताहरू रहेको सामाजिक सञ्जालबाट जानकारी मिलेको छ । त्यसो त नेताहरू आउने हल्ला सुनेपछि स्थानीयहरू जम्मा हुने र स्थानीय देखेपछि नेता तथा बक्ताहरूले विकासको मुल फुटाउने चलन खासै नौलो मानिँदैन । जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य सुपादेउराली र नरपानी–खाँचीकोटलाई प्रत्यक्ष नकारात्मक असर पर्ने गरी राज्यपक्षले गरेको सम्झौतालाई नरपानीवासीहरूले कडो आन्दोलनका बाबजुद स्थगित गरेका भए पनि सुपादेउराली मन्दिर र शितखोलाको शीर खाँचीकोट अर्थात् तीनपानेलाई ध्वस्त गर्ने कार्य अहिले पनि तीव्र गतिमा अगाडि बढिरहेको छ ।
यसरी खाँचीकोटबाट उत्खनन् गरिएका ढुङ्गा जिल्लाबाहिर ढुवानीका लागि प्रयोग गरिएका टिपरको आतङ्कले सडकमा गुड्नेहरू भयभित हुनुका साथै सडकसमेत दयनीय अवस्थामा पुगेको छ । गोरुसिङ्गे–सन्धिखर्क सडक सुधारका लागि सडक डिभिजन शिवपुरले जे–जस्ता राम्रा प्रयास गरेको भए पनि यात्रुवाहक सवारी साधनको अलवा चुनढुङ्गा ओसारपसारका लागि प्रयोगमा ल्याइएका टिपरहरूको तौल नाप्ने निकाय सक्रिय नबन्दा सडकमा रहेका पुल तथा कज–वेहरू कतिबेला खतम हुने हुन् यकीन बताउन सक्ने स्थिति देखिँदैन । सत्य स्वीकार गर्ने हो भने नरपानीदेखि पत्थरकोटसम्म यात्रा गर्नेहरू ढुक्क हुन सक्ने स्थिति नभएको संघारमा नेताद्वयहरूले भनेजस्तो कसरी नरपानीमा बाह्य पर्यटकहरू भित्रिने हुन् आफैमा उदेकलाग्दो विषय हो ।

यतिबेला मुलुकमा दुई तिहाई नेकपाको सरकार भएको र जिल्लाबाट पनि नेकपाले विजयी हासिल गरेको कारण गौशालामा पुगेका वरिष्ठ नेता तथा प्रदेशसभा सदस्यद्वय आचार्य र घिमिरेले सबैभन्दा पहिला राज्यले विगतमा गरेको उत्खनन्सम्बन्धी सम्झौता पूर्ण रूपमा बदर गराएमा नरपानीवासीका लागि सबैभन्दा ठुलो उपहार हुने बुझिन्छ । यसैगरी खाँचीकोटबाट उत्खनन गरी जिल्लावाहिर ढुवानीमा प्रयोग गरिएका टिपरहरूको ट्राफिक व्यवस्थापनका लागि वैकल्पिक सडकको व्यवस्था गर्न सकेमा दुवैजना नेता कमरेडहरू समग्र जिल्लावासीको मन–मस्तिष्कमा अविष्मरणीय बन्ने छन् । उत्खनन सदाका लागि बन्द गरिनु पर्छ भन्दै तत्कालिन नेकपा एमालेको जिल्ला अध्यक्षबाट राजीनामा दिएका प्रदेससदस्य आचार्य यतिबेला शक्तिमा रहेका कारण नरपानीको विकासमा १०–२० लाख सहयोग भन्दै ताली खान भन्दा माथि उल्लिखित समस्या समधान गर्न सके उनी महान् नेताका रूपमा स्थापित हुने अवसर देखिन्छ ।
प्राकृतिक सम्पदामाथिको जथाभावी दोहनबाट वातावरणमा हुने प्रदुषणले प्राकृतिक सन्तुलनलाई खल्बल्याई दिन्छ र समाजमाथि त्यसको प्रतिकुल असर पर्दछ । पृथ्वीलाई भोगबन्दीमा पाउने अधिकार हामीहरूलाई छ तर नष्ट गर्ने अधिकार होइन । हामीले पाएको पुख्र्यौली नासोझैँ यसलाई अझ उन्नत स्थितिमा हामीले भाबी पुस्ताहरूलाई हस्तान्तरण गर्नु पर्दछ ।
दक्षिण अमेरिकाको मन्डीज, उत्तर अमेरीकाको स्कीज, सेन्टल एसियामा काराक्रोम र दक्षिण एसियामा पूर्व–पश्चिम फैलिएको द हिमालय गरी विश्वमा ५–६ वटा हिमाल पर्दछन् । यी हिमालहरू मध्ये सबैभन्दा महत्वपूर्ण हिमाल भनेको द हिमालय हो । जुन अफगानिस्तान, भारत, चीन पाकिस्तान अर्थात् इरानदेखि बर्मा हुँदै नेपालमा पनी पर्दछ । यो हिमालयलाई चार भागमा बाँडिएको छ । सबैभन्दा उत्तरको भाग तिब्बतसँग जोडिएको छ र यसमा ५ हजार मिटर भन्दा अग्ला हिमाल छैनन् । तिब्बतियन पठार क्षेत्रमा रहेको उक्त हिमाललाई पुरानो हिमाल भनिन्छ । हिमशिखरसँगको हिमश्रृङ्खला अर्थात् ८ हजार मिटरभन्दा अग्ला हिमाललाई उच्च हिमाल भनिन्छ र यो हाम्रो देश नेपालमा पर्दछ । शिवालिक अर्थात चुरेश्रृङ्खला जसको उचाई १५०० देखि २००० मिटर रहेको छ । यसलाई वाहिरी हिमालय भनिन्छ । यो पनि नेपालमा पर्दछ ।
५० देखि ६० कि.मि. चौडाईमा रहेको श्रृङ्खलालाई महाभारत श्रृङ्खला भनिन्छ । जसको उचाई ३००० मिटरसम्म रहेको छ र यसलाई महाभारत श्रृङ्खला अर्थात् लेजर हिमालय भनिन्छ । महाभारत श्रृङ्खला अर्थात लेजर हिमालय क्यालसियम कार्वानेट र म्याग्नेसियम कार्वानेटबाट बनेको छ । क्यालसियम कार्वानेट अर्थात् लाइमस्टोन भनेको सिमेन्टको लागि ९९ प्रतिशत मुख्य कच्चा पदार्थ हो । जसले गर्दा पनि नेपालको महाभारत सिमेन्ट उद्योगको लागि कच्चा पदार्थको भन्डार मानिन्छ । महाभारत व्यापारी प्रायोजनको लागि राज्यपक्षबाट खतरामा परिरहेको छ । उत्पादित सिमेन्टको बजार, नाफा तथा भविष्य अत्यधिक र उज्वल छ । सिमेन्टको वजन बढि हुने कारणले भारतीय सिमेन्टसँग नेपाली सिमेन्ट सजिलै प्रतिस्पर्धा गर्न सक्दछ । भारतको युपी बिहार, बगाल, उत्तराखण्ड र सिक्कीम लगायतका शहरहरूमा झारखण्ड, राजस्थान, मध्यप्रदेश, आन्द्र प्रदेश र गुजरातबाट सिमेन्ट मगाउन भन्दा नेपालबाट सिमेन्ट मगाउँदा सस्तो पर्ने कारण नेपाली सिमेन्ट उद्योगीहरूको लागि फलिफाप बनेको छ । नेपालका ब्युरोक्र्याट र पोलटिसियनले देशी तथा विदेशी व्यापारीहरूलाई थोरै राजस्व र धेरै कमिसनको लालचमा लेकहरू बेचिसकेका कारण र बेच्ने क्रम चलिरहेकाले लेजर हिमालय खतरामा रहेको छ र यो निरन्तरता कायम रहने हो भने हाम्रो भावी पुस्ताले लेजर हिमालय देख्न पाउने छैनन् ।
उद्योेग सञ्चालन हुनु आफैमा नराम्रो कुरा नभए पनि कुनै पनि कार्यको थालनी सँगसँगै फाइदा वा वेफाइदाको तुलना गर्नुे आवश्यक देखिन्छ । एउटा लेजर हिमालयको समाप्तिसँगै समग्र जिल्लावासीहरूलाई कति फाइदा भएको छ, त्यसको लेखाजोखा जनप्रतिनिधिहरूले गर्नु आवश्यक देखिन्छ । नेपालको शान महाभारत श्रृङ्खला अर्थात् लेजर हिमालयलाई मरुभूमिमा रुपान्तरण गरी बनाइएको सिमेन्टको आयू एक सय वर्ष हुन्छ भने महाभारत श्रृङ्खला अर्थात् लेजर हिमालयको आयू कति नि ? यी कुराहरूमा विचार पुऱ्याउँदै जिल्लास्थित उच्चपदस्थ कमरेडहरूले अतीतलाई स्मरण गर्नु जरुरी देखिन्छ ।