

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रकम मागेको अडिओ प्रकरणमा दोषी देखिए आफ्ना सांसद ढाकाकुमार श्रेष्ठलाई ७२ घन्टाभित्र कारबाही गर्ने दाबी गरेका छन्।
आइतबार बारा–२ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले सो दाबी गरेका हुन्।
‘यतिखेर हामीले भ्रष्टाचारको कुरा गरिरहँदा आज हाम्रा एकजना संघीय सांसदको अडिओ टेप सार्वजनिक भएको कुरा मैले सामाजिक सञ्जालबाट जानकारी प्राप्त गरेको छु,’ लामिछानेले अघि भने, ‘म स्पष्ट पार्न चाहन्छु, भ्रष्टाचारका विषयमा हाम्रो भनाई, हाम्रो गराई र हाम्रो कुरा सधैं एउटै हो। त्यो अडिओ सार्वजनिक हुने बित्तिकै मैले पार्टी पंक्तिमा ७२ घन्टाभित्र छानबिन गर्नू भनेर अल्टिमेटम दिएको छु।’

उनले देशका भ्रष्टाचार काण्डहरू ७२ वर्षदेखि अड्किएको भएपनि आफ्नो पार्टीमाथि प्रश्न उठेपछि तत्काल कारबाही हुने पनि बताए।
‘देशका भ्रष्टाचारका काण्डहरु ७२ वर्षदेखि अड्किएका होलान मलाई मतलब छैन। तर हाम्रो पार्टीभित्र प्रश्न उठेपछि त्यसको निराकरण हुन्छ,’ उनले भने, ‘यो छानबिन नहुँदासम्म सांसदको रुपमा र हाम्रो पार्टीको साधारण सदस्यको रुपमा पनि हाम्रा सांसद ढाकाकुमार श्रेष्ठलाई कुनै कार्य गर्न दिने छैन।’नेपाल खबरले उल्लेख गरेको छ।





