एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालको सहज जित, कुशल र भीमको अर्धशतक

काठमाडौं – एसीसी प्रिमियर कपअन्तर्गतको पहिलो म्याचमा नेपालले मलेसियाविरुद्ध सहज जित हासिल गरेको छ।

मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १३.४ ओभरको खेल बाँकी छँदै भेट्टायो। लक्ष्य पछ्याउने क्रममा नेपालका लागि भीम सार्की र कुशल मल्लले अर्धशतक बनाए।

कुशल मल्लले ४० बलमा ५ चौका र ५ छक्कासहित ७० रनको अविजित इनिङ खेल्दा भीम सार्की ९८ बल खेल्दै ५ चौकाको मद्दतले ७१ रन जोडे।

खेल सक्नका लागि सट प्रहार गर्दा पाँच रन बनाउन बाँकी रहँदा उनी क्याचआउट भए। उनीहरूबीच शतकीय साझेदारी भएपछि मलेसिया खेलमा फर्किन सकेन।

यस्तै, कप्तान रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रनको इनिङ खेले। आशिफ शेख १ रन बनाएर आउट हुँदा दीपेन्द्रसिंह ऐरीले नटआउट ५ रन जोडे।

मलेसियाका वीरान्दीप सिंह, विजय उन्नी, रिजवान हैदर र मोहम्मद वफीकले समान एक–एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३५ रन बनायो।

images

एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालको सहज जित, कुशल र भीमको अर्धशतक

मलेसियालाई २३५ रनमा रोक्न बलिङमा नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले ३र३ विकेट लिए। सन्दीपले खेलको अन्तिम ओभरमा दुई विकेट झारेका थिए। त्यसैगरी ललित राजवंशीले २ तथा गुल्शन झाले एक विकेट लिएका थिए। सोमपालले ९ ओभरमा ४० रन खर्चेर ३ विकेट लिंदा सन्दीपले भने १० ओभरमा ४८ रन दिएर ३ विकेट झारेका थिए। त्यसैगरी ललितले १० ओभरमा ३४ रन मात्र दिएर २ विकेट लिए।

images

मलेसियाका लागि कप्तान अहमद फैजले ९५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७६ रनको योगदान दिए। उनले दोस्रो विकेटका लागि विरनदीप सिंहसँग मिलेर ११६ रनको शतकीय साझेदारी गरेका थिए।

images

युवा ब्याटर विरनदीप सिंहले भने ९४ बलमा ४६ रन जोडे। तर यसपछि अन्य ब्याटरले गतिलो स्कोर बनाउन सकेनन्।