आयोगको निर्णयविरुद्ध राष्ट्रिय जनमोर्चाको विरोध र्‍याली

राष्ट्रिय जनमोर्चाले निर्वाचन आयोगको पछिल्लो निर्णयको विरोध गर्दै राजधानीमा विहीबार विरोध प्रदर्शन गरेको छ । निर्वाचन आयोगको पछिल्लो निर्णय अनुसार विदेशी नागरिकले पनि नेपाली नागरिकता पाउने खतरा रहेको भन्दै निर्णय सच्याउन माग गर्दै विरोध र्‍याली निकालेका हुन् । राजधानीको रत्नपार्कको शान्ति वाटिकाबाट शुरु भएको विरोध र्‍यालीले चक्रपथ परिक्रमा गरेको थियो ।


विरोध र्‍यालीपछि आयोजित सभामा बोल्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आ-आफ्नो पक्षमा जनमत तयार गर्न प्रमुख तीन दल र मधेशवादी दलले विदेशीलाई नागरिकता बाँड्ने नीति लिएको आरोप समेत लगाउनुभयो।


निर्वाचन आयोगको निर्णर्यविरुद्ध जनमोर्चाले मंसिर ६ गते तराइका जिल्लाहरुमा पनि विरोधका कार्यक्रम आयोजना गर्ने अध्यक्ष केसीले जानकारी दिनुभयो।


मधेसवादी दलले मतदाता नामवलीका लागि नागरिकता अनिवार्य गरेपछि आपत्ति जनाउँदै विरोध गरेपछि आयोगका निर्णय फेरेको थियो ।


आयोगले विना नागरिकता पनि मतदाता नामावलीमा नाम दर्ता गर्ने निर्णयले विदेशी नागरिकलाई नागरिकता दिने राष्ट्रघाती निर्णय भएको जनमोर्चाले आरोप लगाउँदै आएको छ ।