सरकारले बजेट ल्याउन आग्रह गरेबमोजिमको अध्यादेश राष्ट्रपतिद्वारा जारी, बजेट वाचन हुँदै

किरण चापागाईं, काठमाडौं, मङ्सिर ४- सरकारले बजेट ल्याउन आग्रह गरेबमोजिमको अध्यादेश राष्ट्रपतिद्वारा जारी भएको छ। अब सरकारले यही अध्यादेशका आधारमा बजेट ल्याउन सक्नेछ। बजेट आज ४ बजे सरकारले राष्ट्रिय योजना आयोगको हलबाट सार्वजनिक गर्दैछ।

 

हिजो माओवादीले संसदबाट बजेट ल्याउन नदिएपछि सरकारले अध्यादेशद्वारा बजेट ल्याउने निर्णय गरेको थियो। माओवादीले अर्थ मन्त्री सुरेन्द्र पाण्डेमाथि आक्रमण गरेका थिए भने बजेट राखिएको ब्रिफकेश खोसेर च्यातचुत पारेका थिए। उनीहरुले रोष्टम घेराउका क्रममा अन्य केही मन्त्री र सांसदलाई समेत अभद्र व्यवहार गरेका थिए।

अध्यादेशअनुसार सरकारले परिवर्तन गरेका करका दरहरु गए राति १२ बजेबाटै लागू हुनेछन्। केही समयअघि मात्र राष्ट्रपतिले अध्यादेशमा दस्तखत गरेका स्रोतले जानकारी दिएको हो।