पालुङ्टार, मङ्सिर ७ – माओवादीको विस्तारित बैठकको तेस्रो दिन तीन वटै प्रतिवेदनमाथि छलफल सुरु भएको छ। दुई बजे अचानक डाकिएको स्थायी समिति बैठकले छलफल विधि तय गरेको हो। विधिअनुसार ३० समूहमा विभाजित गरी प्रतिवेदनमाथि छलफल हुने भएको छ।
प्रतिवेदनहररुमाथि छलफल सुरु हुने समयमा अध्यक्ष दाहालले अचानक छलफल स्थगित गरी छलफल विधि तय गर्न स्थायी समिति बैठक बोलाएका थिए। विस्तारित बैठकमा माओवादीका २६ राज्य समितिका ७ हजार कार्यकर्ता सहभागी छन्।
यसैगरी माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पुष्पकमल दाहालको प्रष्ट धारणा नआएकाले आफूले असहमति राखेको बताएका छन्। उनले मिडिया सेन्टरमा सञ्चारकर्मीमाझ अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन स्पष्ट नभएको भनाइ राखेका थिए।
दाहालद्वारा एकताका लागि आह्वान
उपाध्यक्ष मोहन वैद्यले पार्टीबाट अलग्गिन सक्ने चेतावनी दिएको परिप्रेक्ष्यमा माओवादी वास्तारित बैठकमा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो प्रतिवेदन पेश गरेका छन्। मंगलबार बिहान प्रतिवेदन पेश गर्दै अध्यक्ष दाहालले पार्टी एकताका लागि आह्वान गरेका छन्।
पूर्वअनुमान विपरित उपाध्यक्ष वैद्यले पार्टी नै फुटाउने चेतावनी दिएपछि फरक मत राख्ने दुवै उपाध्यक्षलाई समेट्न दाहालले हिजोको आफ्नो सम्बोधन स्थगित गरेका थिए।
दाहालले प्रतिवेदनमा उपाध्यक्षद्वय बाबुराम भट्टराई र मोहन वैद्यले उठाएका विषयको जवाफ समेटेको बैठकमा सहभागीले बताए।
नयाँ विषय थप्नु परेपछि प्रतिवेदन प्रस्तुत गर्ने समय दाहालले आज बिहान ८ बजेलाई सारेका थिए।
विस्तारित बैठक चलिरहँदा बालबालिकासम्बन्धी राष्ट्रसंघीय कार्यटोली पालुङ्टार आइपुगेको छ। टोलीले दाहालसँग भेट्ने कार्यक्रम छ। बालबालिका सम्बन्धि राष्ट्रसंघीय कार्यटोलीका प्रमुख क्लाउड हेलरको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधि मण्डल हेलिकोप्टरबाट पालुङटार आएको हो।