पार्टीका नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्छ, जनार्दन शर्मा

1 काठमाडौँ — नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीका नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा शनिबार अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्नेक्रममा शर्माले पार्टी नेताहरुका सम्पत्ति छानबिन गर्नुपर्ने र त्यसका लागि आफू तयार रहेको बताएका हुन् ।

ad

‘मैले संसद्‌को रोस्ट्रमबाट २०४७ साल यताका सबै नेताहरुको सम्पत्ति छानबिन गरौं भनेर प्रस्ताव गरेको हुँ । कतिपय नेताले ३२ सिटे भनेर हामीलाई खिसिट्यूरी गर्दा प्रचण्डको साथ र माओवादीको समर्थनबिना बालुटार प्रवेश संभव नभएको भनेर प्रतिवाद पनि गरेकै हुँ । पार्टीभित्र पनि सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने कुरामा मेरो दृढ सहमति छ,’ उनले भने ।आफूले कुनै गल्ती नगर्दा पनि प्रश्न उठेपछि मार्गप्रशस्त गरेको समेत पूर्वअर्थमन्त्री शर्माले उल्लेख गरेका छन् । ‘छानबिन गरौं कसको सम्पत्ति कति छ ? कसका घर कति छन् ? कसका के के व्यवसाय छन् ? कसका बैंक ब्यालेन्स कति छ ? म तयार छु ।

कुनै गल्ती नगर्दा नगर्दै पनि प्रश्न उठेपछि छानबिनको लागि मार्गप्रशस्त गर्ने मै हुँ,’ उनले अघि भने, ‘तर मन्त्रीको हैसियतले सामान्य तोक लगाएको, त्यो पनि राज्यको निकाय सम्पत्ति शुद्धीकरण विभागले छानबिन गरेर सम्पत्ति फकुवा गरेको पत्र देखाएपछि यसबारे के भएको हो ? सत्य तथ्य बुझ्नू र आवश्यक सहजीकरण गर्नू भनी तोक लगाएको विषयलाई अपराध गरेको भनेर दुष्प्रचार गरिन्छ, चरित्र हत्या गर्न खोजिन्छ ।’ उनी ४ पटक गरी ३९ महिना मन्त्री पदमा रहिसकेका छन् ।

ad