
काठमाडौँ — चार दिनदेखि राजधानीमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै नेताहरूले ‘उही माओवादी, उही क्रान्तिकारी प्रचण्ड’ नरहेको बताएका छन् । उनीहरूले पार्टीमा आन्तरिक लोकतन्त्र धरापमा परेको, सामूहिक निर्णय प्रक्रिया त्यागिएको, नातावाद हावी भएको, इमान्दार नेता–कार्यकर्तालाई पाखा लगाइएको, अवसरवादी चलखेल भएको आरोप लगाउँदै सुधारको थालनी नेतृत्वबाटै हुनुपर्ने माग गरेका छन् ।


करिब डेढ वर्षपछि बसेको बैठकमा नेताहरूका आलोचना र सुझावलाई अध्यक्ष दाहालले चार दिनदेखि डायरीमा टिपिरहेका छन् । सबै केन्द्रीय सदस्यले बोलिसकेपछि उनले आइतबार त्यसको जवाफ दिनेछन् ।

अध्यक्ष पुष्पकमल दाहालको उत्तराधिकारी तयार नगरिएको भन्दै नेतृत्वको आलोचना भएको छ । तीन दशकभन्दा बढी पार्टी प्रमुख रहेका दाहालको कार्यशैलीको नेताहरूले खुलेर आलोचना गरेका छन् ।

बैठकमा शनिबार उपमहासचिव वर्षमान पुनले दाहालको विकल्प तत्काल कसैले नखोजेको बताउँदै उत्तराधिकारी तयार नगरेकामा असन्तुष्टि व्यक्त गरे । उनले उत्तराधिकारी निर्माणको विधि विकास गर्नुपर्ने बताए । ‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु,’ उनले भने, ‘तर उत्तराधिकारी तयार पार्न विधिको विकास गरेर जाऔं ।’




