नेपाली कांग्रेसका नेता शेखर कोइरलाले समानुपातिक र प्रत्यक्ष निर्वाचित गरी मिश्रित निर्वााचन प्रणालीलाई बदलेर प्रत्यक्ष निर्वाचित प्रणालीमात्र राख्न राम्रो हुने बताएका छन । भरतपुरमा शनिबार आयोजित नेपाली कांग्रेस चितवनको जिल्ला सम्मेलन उद्घाटन गर्दै नेता कोइरलाले यस्तो बताएका हुन नेता कोइरालाले अहिलेको निर्वाचन पद्धति पनि बदल्न छलफल सुरू गर्नु पर्ने र आउँदो निर्वाचनअघि नै निष्कर्षमा पुग्नुपर्ने धारणा राखे ।


मिश्रित निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत नआउने र खिचडी सरकारमात्र बनिरहने उनको भनाइ थियो । प्रत्यक्षतर्फ अहिले कायम १६५ सिट संख्या बढाएर संविधानसभाको जस्तै २४० बनाउन सकिने उनले बताए ।

‘यो ७५ सिट महिला र दलितका लागि आरक्षित गरौं । आदिवासी अल्पसंख्यकका लागि समानुपातिक तरिकाले राष्ट्रिय सभा गठन गरौं । यो बारेमा संविधान संशोधन गर्न बहस चलाऔं । मलाई लाग्छ एमालेले मान्ला । माओवादी र अन्यले नमान्लान् पनि । तर बहस गर्दै गएपछि आउँदो निर्वाचनसम्म एउटा निर्णयमा पुग्न सकिन्छ,’ नेता कोइरालाले भने ।




