फस्र्ट माइक्रोफाइनान्सको नाफा ७४ प्रतिशतले बढ्यो, १० प्रतिशतभन्दा बढी लाभांश क्षमता

काठमाडौं, ०३ साउन । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा ७३.६३ प्रतिशतले बढेर १९ करोड ७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको नाफा १० करोड ९८ लाख रुपैयाँ थियो।

संस्थाको वितरणयोग्य मुनाफा १३ करोड ६१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५०.७६ प्रतिशतले बढी हो। यस आधारमा कम्पनीले करसहित करिब १०.१३ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको देखिएको छ। यद्यपि, अन्तिम निर्णय सञ्चालक समिति, नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट हुनेछ।

सञ्चालन मुनाफा ७३ प्रतिशतले बढेर २७ करोड २७ लाख रुपैयाँ पुगेको छ। ब्याज खर्च करिब ४८ प्रतिशतले घटेपछि खुद ब्याज आम्दानी बढ्न सफल भएको कम्पनीले जनाएको छ। निष्क्रिय कर्जा (एनपीएल) ३.८४ प्रतिशतबाट घटेर २.८८ प्रतिशतमा झरेको छ भने नेट एनपीएल शून्यमै कायम रहेको छ।

प्रतिसेयर आम्दानी ८.१७ रुपैयाँबाट बढेर १४.१८ रुपैयाँ पुगेको छ। यद्यपि, कुल सम्पत्ति र कर्जा लगानी घटेको छ। पुँजीकोष अनुपात ३५.४३ प्रतिशत पुगेकाले कम्पनीको वित्तीय आधार अझ सुदृढ बनेको देखिएको छ। लागत नियन्त्रण, कर्जा असुलीमा सुधार र नाफाको गुणस्तर वृद्धिले कम्पनीको समग्र वित्तीय अवस्था बलियो बनेको संकेत गरेको छ।