सिटिजन लाइफको बीमाशुल्क संकलन २४ प्रतिशतले बढ्यो

काठमाडौं, ०३ साउन ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ मा बीमा व्यवसायमा उल्लेखनीय विस्तार गर्दै कुल बीमाशुल्क संकलन २४.१२ प्रतिशतले वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा ९ अर्ब ३६ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ७ अर्ब ५४ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो।

कम्पनीको वृद्धिमा नयाँ व्यवसायबाट प्राप्त प्रथम बीमाशुल्कले मुख्य योगदान दिएको छ। समीक्षा अवधिमा प्रथम बीमाशुल्क ३८.२ प्रतिशतले बढेर ३ अर्ब ३० करोड ७७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो शीर्षकमा कम्पनीले २ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ संकलन गरेको थियो।

यस्तै, पुराना बीमितबाट प्राप्त हुने नवीकरण बीमाशुल्क पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्ष ५ अर्ब १५ करोड ४९ लाख रुपैयाँ रहेको नवीकरण बीमाशुल्क समीक्षा वर्षमा १७.६ प्रतिशतले वृद्धि हुँदै ६ अर्ब ६ करोड १२ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।

प्रथम बीमाशुल्क र नवीकरण दुवै क्षेत्रमा दोहोरो अंकको वृद्धि हासिल हुनु कम्पनीको व्यवसाय विस्तार र ग्राहकको बढ्दो विश्वासको संकेत भएको विश्लेषण गरिएको छ। जीवन बीमा बजारमा सिटिजन लाइफले आफ्नो उपस्थिति थप सुदृढ बनाउँदै निरन्तर व्यवसाय विस्तारको गति कायम राखेको देखिएको छ।