बंगलादेशका १८ मध्ये ११ राष्ट्रपतिले कार्याकाल पाएनन पुरा गर्न

ढाका, ९ साउन । गम्भीर स्वास्थ्य समस्याका कारण बंगलादेशका २२औँ राष्ट्रपति मोहम्मद सहाबुद्दिनले शुक्रबार राजीनामा दिएका छन्।

यससँगै उनी आफ्नो संवैधानिक कार्यकाल पूरा गर्नुअघि नै पद छाड्ने पछिल्ला राष्ट्र प्रमुखसमेत बनेका छन्। उनको राजीनामा पत्र शुक्रबार दिउँसो सभामुख हाफिजुद्दिन अहमदसमक्ष बुझाइएको थियो।

बंगलादेशको स्वतन्त्रतायताको राष्ट्रपतीय इतिहास हत्या, सैन्य ‘कू’, सत्तापलट, संवैधानिक परिवर्तन, जनआन्दोलन र राजनीतिक सङ्कटहरूबाट प्रभावित रहँदै आएको छ। पूर्ण, कार्यवाहक वा निमित्त राष्ट्रपतिको जिम्मेवारी सम्हालेका १८ जनामध्ये ११ जनाले विभिन्न कारणवश आफ्नो पूर्ण कार्यकाल पूरा नगरी राजिनामा दिएको बंगलादेशको इतिहासमा कोरिएको छ ।

शाहबुद्दिन पनि ती राष्ट्रपतिहरूको सूचीमा सामेल भएका छन्, जसले राजीनामा दिएका छन । यसअघि पदबाट हटाइए, सैन्य ‘कू’ मार्फत सत्ता गुमाए, वा राजनीतिक मतभेद, जनआन्दोलन वा स्वास्थ्य समस्याका कारण पद छोडेका सुचीमा उनी पनि सामेल भएका छन । यसक्रममा दुई बहालवाला राष्ट्रपतिको हत्या भएको थियो भने एकजनाको मात्र कार्यकालमा प्राकृतिक कारणले निधन भएको इतिहास रहेको छ ।

न्यायाधीश अबु सइद चौधरी
बंगलादेशका तेस्रो राष्ट्रपति न्यायाधीश अबु सइद चौधरीले सन् १९७२ को जनवरी १२ मा पदभार ग्रहण गरेका थिए  । संसदीय प्रणालीअन्तर्गत बंगबन्धु शेख मुजिबुर रहमान प्रधानमन्त्री बने पछि उनले यो जिम्मेवारी सम्हालेका थिए। तर, विभिन्न विषयमा सरकारसँगको मतभेदका कारण उनले आफ्नो कार्यकाल पूरा गर्नु अघि नै सन् १९७३ को डिसेम्बर २४ मा राजीनामा दिए। त्यसपछि मोहम्मद मोहम्मद उल्लाहले राष्ट्रपतिको पद सम्हाल्नु परेको थियो ।

मोहम्मद मोहम्मदउल्लाह
न्यायाधीश अबु सइद चौधरीको राजीनामा पछि मोहम्मद मोहम्मद उल्लाहले सन् १९७३ को डिसेम्बर २४ मा पहिलो पटक कामु अर्थात कायममुकायम राष्ट्रपतिका रूपमा पदभार सम्हाल्नु परेको थियो । उनले सन् १९७४ को जनवरी २७ मा देशको चौथो राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरे। र, सन् १९७५ को जनवरी २५ मा उनको कार्यकाल समाप्त भयो ।  सोही समयमा बंगलादेशले चौथो संशोधन र ‘बाक्सल’को गठनमार्फत राष्ट्रपतीय प्रणाली अपनाए पछि बंगबन्धु शेख मुजिबुर रहमान पुनः राष्ट्रपति पदमा फर्किएका थिए।

खोन्दकर मोस्ताक अहमद
सन् १९७५ को अगस्ट १५ मा बङ्गबन्धु शेख मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्यहरूको हत्या पछि खोन्दकर मोस्ताक अहमदले सत्ता सम्हाल्न बिवश भए । उनले आफूलाई राष्ट्रपति घोषणा गरे र ८१ दिनसम्म राष्ट्र र सरकारको नेतृत्व गरेका थिए ।

मुक्ति सङ्ग्रामको समयमा, मोस्ताकले मुजिबनगर सरकारमा परराष्ट्र, कानुन तथा संसदीय मामिला मन्त्रीको रूपमा काम गरे भने स्वतन्त्रता पछि उनले शेख मुजिबुर रहमानको नेतृत्वमा विभिन्न मन्त्रालयहरूको जिम्मेवारी सम्हालेका थिए । तर पछि ‘बाकसाल’को कार्यकारी समितिको सदस्य बनेका थिए । तर, सन् १९७५ को नोभेम्बर ६ मा सैनिक विद्रोहद्वारा सत्ताच्युत भए पछि उनको राष्ट्रपतिकाल समय सिमा अघि नै समाप्त भयो।

images

न्यायाधीश अबु सादात मोहम्मद सायेम
खोन्दकर मोस्ताक अहमदले पद त्याग गरे पछि सन् १९७५ को नोभेम्बर ६ मा प्रधानन्यायाधीश अबु सादात मोहम्मद सायेम बङ्गलादेशको राष्ट्रपति बने ।उनले नोभेम्बर ८ मा औपचारिक रूपमा पदभार ग्रहण गरे भने सैनिक शासन अर्थात मार्शल ल अन्तर्गत देशको पहिलो नागरिक राष्ट्रपति बनेर रेकर्ड राखेका थिए ।

सायेमले ‘प्रमुख सैनिक शासन प्रशासक’को भूमिका पनि सँगसँगै निर्वाह गरे र सन् १९७६ को नोभेम्बर २९ मा उक्त भूमिकाबाट अलग भए । स्वास्थ्य अवस्था बिग्रिएको कारण देखाउँदै उनले १९७७ को अप्रिल २१ मा राष्ट्रपतिको पदबाट राजीनामा दिए ।

images

न्यायाधीश अब्दुस सत्तार
सन् १९८१ को मे महिनामा राष्ट्रपति जियाउर रहमानको हत्या पछि उपराष्ट्रपति अब्दुस सत्तार कार्यवाहक राष्ट्रपति बने। त्यसपछि १५ नोभेम्बर १९८१ मा भएको निर्वाचनमा करिब ६६ प्रतिशत मत प्राप्त गरी उनी राष्ट्रपतिमा निर्वाचित भए। यद्यपि, उक्त निर्वाचन विवादित रहन गएको थियो ।

तर, २४ मार्च १९८२ मा सेना प्रमुख हुसेन मोहम्मद इरशादले सैनिक ‘कू’वाट सत्ता कब्जा गरेपछि उनको राष्ट्रपतिकाल समाप्त भयो। त्यस समयमा, खराब स्वास्थ्यका कारण राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न नसक्ने घोषणा गर्दै सत्तारले पनि पद त्याग गरेका थिए ।

images

हुसेन मोहम्मद इरशाद
राष्ट्रपति अहसानुद्दिन चौधरीलाई पदबाट हटाए पछि जनरल हुसेन मोहम्मद इरशादले ११ डिसेम्बर १९८३ मा राष्ट्रपतिको पद सम्हाले। उनको शासनकालमा बंगलादेशमा सन् १९८६ र १९८८ मा आम निर्वाचनहरू भए, तर ती दुवै निर्वाचनको विश्वसनीयतामाथि प्रश्न उठाइयो। सैनिक शासन विरुद्धको विरोध तीव्र हुँदै जाँदा प्रमुख राजनीतिक दलहरू इरशादको राजीनामाको माग गर्दै राष्ट्रव्यापी आन्दोलनमा एकजुट भए र जनआन्दोलनपछि ६ डिसेम्बर १९९० मा उनले राजीनामा दिए, जससँगै करिब ९ वर्ष लामो सैनिक समर्थित शासनको अन्त्य भएको थियो।

एक्युएम बदरुद्दोझा चौधरी
एक्युएम बदरुद्दोझा चौधरीले १४ नोभेम्बर २००१ मा बंगलादेशको १५औँ राष्ट्रपतिका रूपमा पदभार ग्रहण गरे तर सत्तारुढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को बढ्दो दबाबका कारण करिब ७ महिनाको कार्यकाल पछि २१ जुन २००२ मा उनले राजीनामा दिन बाध्य भए ।

पूर्वराष्ट्रपति जियाउर रहमानको स्मृति दिवसमा उनको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण नगर्ने निर्णय र आधिकारिक सन्देशमा जियालाई ‘स्वतन्त्रताको उद्घोषक’ नभन्ने जस्ता विभिन्न विषयहरूलाई लिएर पार्टीका सांसदहरूले उनलाई महाभियोग लगाउने धम्की दिएका थिए । बंगबन्धु शेख मुजिबुर रहमानको समाधिस्थलको भ्रमणले पनि पार्टीको असन्तुष्टि बढाउन भूमिका खेलेको थियो ।

त्यसो त पदमा रहँदा निधन भएका वा हत्या गरिएका पनि बंगलादेशमा राष्ट्रपतिहरू रहेका छन । बंगलादेशको राजनीतिक इतिहासमा पदमा बहाल रहेकै बेला राष्ट्रपतिहरूको निधन भएका घटनाहरू पनि देखिएका छन्। देशका पहिलो राष्ट्रपति बंगबन्धु शेख मुजिबुर रहमानको सन् १९७५ को अगस्ट १५ मा सैन्य विद्रोहका क्रममा उनका परिवारका अधिकांश सदस्यसहित हत्या गरिएको थियो।

Nepal life insurance

राष्ट्रपति तथा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का संस्थापक जियाउर रहमानको सन् १९८१ को मे ३० मा चटगाउँमा भएको सैन्य विद्रोहका क्रममा हत्या गरिएको थियो। राष्ट्रपति जिल्लुर रहमान पदमा रहँदा प्राकृतिक कारणले निधन हुने एकमात्र बंगलादेशी राष्ट्रपति हुन् । बंगलादेशका १९औँ राष्ट्रपतिको सन् २०१३ को मार्च २० मा सिंगापुरको माउन्ट एलिजाबेथ अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

 

मोहम्मद सहाबुद्दिनको राजीनामाले बंगलादेशको राष्ट्रपतीय इतिहासमा अर्को अध्याय थपेको छ, एउटा यस्तो पद जुन प्रायः राजनीतिक उथलपुथल, सैन्य हस्तक्षेप, संस्थागत तनाव र स्वास्थ्यसम्बन्धी कारणले हुने पदत्यागबाट प्रभावित हुँदै आएको छ।