
दक्षिण अफ्रिकाको दक्षिण–पूर्वी प्रान्त क्वाजुलु–नातालस्थित क्वामाखुथा क्षेत्रमा मङ्गलवार राति भएको भीषण गोलीकाण्डमा एक गर्भवती महिलासहित ११ जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् । स्थानीय बस्तीको एक घरभित्र जमघट भइरहेका बेला तीन जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा यो मानवीय क्षति भएको प्रहरीले जनाएको छ । दक्षिण अफ्रिकी प्रहरी सेवा (एसएपीएस) ले जारी गरेको आधिकारिक विवरणअनुसार घटना क्वामाखुथा टाउनसिपको जिको इलाकामा मङ्गलबार राति घटेको हो ।
घरभित्र १३ जना पुरुष र एक गर्भवती महिला जमघट भई रमाइलो गरिरहेका बेला अचानक प्रवेश गरेका तीन जना अज्ञात बन्दुकधारीहरूले उनीहरूमाथि ताबडतोब गोली बर्साएका थिए । आक्रमणकारीहरूको गोली प्रहारबाट महिलासहित १० जनाको घटनास्थलमै ज्यान गएको थियो ।


घटनामा घाइते भएका अन्य चार जनालाई तत्काल उद्धार गरी स्थानीय अस्पताल पु¥याइए पनि उपचारका क्रममा थप एक जनाको मृत्यु भएपछि मृतकको संख्या ११ पुगेको प्रहरीले जनाएको छ । हाल तीन जना घाइतेको अस्पतालमा उपचार जारी छ र उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ ।

यो विभत्स हत्याकाण्डलगत्तै दक्षिण अफ्रिकी प्रहरी सेवाका कार्यवाहक राष्ट्रिय आयुक्त पुलेङ डिम्पानेले आक्रमणकारीहरूलाई तत्काल नियन्त्रणमा लिन कडा निर्देशन दिनुभएको छ । प्रहरी प्रशासनले अभियुक्तहरूको पहिचान र पक्राउका लागि ७२ घण्टे विशेष खोज तथा अपरेसन (ट्रयाकिङ अपरेसन) शुरु गरिसकेको छ । प्रारम्भिक अनुसन्धानबाट प्राप्त विवरण अनुसार आक्रमणको शिकार भएका केही व्यक्तिहरू यसअघि नै आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीको गुप्तचर शाखा (क्राइम इन्टेलिजेन्स) को निगरानी सूचीमा रहेका थिए । यद्यपि, यो आक्रमण कुनै ग्याङवार वा आपराधिक प्रतिशोधका कारण भएको हो वा अन्य कुनै कारणले भन्नेबारे प्रहरीले औपचारिक पुष्टि गरिसकेको छैन । प्रहरीले घटनास्थललाई घेराबन्दी गरी विस्तृत अनुसन्धान अगाडि बढाएको छ ।




