संयुक्त राष्ट्रसंघद्वारा एआई जोखिम व्यवस्थापनका लागि बहुपक्षीय संयन्त्रको माग

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को तिब्र विकासले निम्त्याउन सक्ने गम्भीर जोखिमलाई मध्यनजर गर्दै यसलाई व्यवस्थापन गर्न तत्काल विश्वव्यापी संयन्त्र आवश्यक रहेको औंल्याउनुभएको छ । उहाँले ‘बहुपक्षीय एआई जोखिम व्यवस्थापन फ्रेमवर्क’ निर्माण गर्न विश्वका शक्तिशाली राष्ट्रहरूलाई आह्वान गर्नुभयो ।

महासचिव गुटेरेसले एआई प्रविधिको विकास मानिसको बुझाइभन्दा धेरै गुणा तिब्र गतिमा भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले प्रविधि आफैंमा खतरा नभए पनि जवाफदेहिता र पारदर्शिताको अभावमा यसले गम्भीर संकट निम्त्याउन सक्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आजको शक्ति डेटा, कम्प्युटिङ क्षमता र एल्गोरिदममा निहित छ, जुन निकै थोरै मानिस वा कम्पनीको हातमा केन्द्रित छ ।’

शीतयुद्धको समयमा परमाणु हतियारको जोखिम व्यवस्थापन गर्न विश्वका शक्ति राष्ट्रहरूले जसरी साझा संयन्त्र बनाएका थिए, अहिले एआईको सन्दर्भमा पनि उस्तै तत्परता आवश्यक रहेको गुटेरेसको भनाइ छ । उहाँले एआई प्रविधिमा अग्रणी भूमिका खेलिरहेका मुलुकहरूले सुरक्षा जोखिमका जानकारी आदानप्रदान गर्ने र साझा सुरक्षा मापदण्ड निर्माण गर्नेतर्फ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रसंघले ‘ग्लोवल डिजिटल कम्प्याक्ट’ र ‘इन्डिपेन्डेन्ट इन्टरनेशनल साइन्टिफिक प्यानल’ मार्फत एआईको सुशासनका लागि आधार तयार गरिसकेको भए पनि अबको कदम थप कडाइका साथ अघि बढाउनुपर्ने उहाँको भनाइ छ । विशेषगरी, बालबालिकालाई परीक्षणको साधन बनाउन नहुने र जीवन–मरणको निर्णय लिने अधिकार कहिल्यै पनि मेशिनलाई दिन नहुनेमा उहाँले जोड दिनुभयो । महासचिव गुटेरेसले एआईको विकास मानवहितमा हुनुपर्ने र यसमाथि कुनै पनि अवस्थामा मानवीय नियन्त्रण र निगरानी अनिवार्य रहेको भन्दै ‘किलर रोबोट’ को अवधारणालाई भविष्यमा कुनै स्थान दिन नहुने स्पष्ट पार्नुभयो ।