रास्वपा अर्घाखाँचीमा ‘हामी आउँदै छौँ’ अभियान, तीन दिन स्थानीय तहमा संगठन सुदृढीकरण र अन्तरक्रिया हुने

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीले ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत जिल्लाका स्थानीय तहमा सञ्चालन हुने कार्यक्रमको समयतालिका सार्वजनिक गरेको छ।

पार्टीका जिल्ला सचिव चिरञ्जीवी पन्थीका अनुसार केन्द्रीय पार्टीले अर्घाखाँचीका लागि खटाएका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य उत्तमप्रसाद पौडेल र शर्मिला खनालको सहभागितामा असोज २४ गतेदेखि २६ गतेसम्म जिल्लाका विभिन्न स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिनेछ।

तीन दिनसम्म सञ्चालन हुने अभियानमा संगठन सुदृढीकरण, स्थानीय अवस्था अध्ययन तथा अन्तरक्रियालाई मुख्य प्राथमिकता दिइएको पार्टीले जनाएको छ।

अभियानका क्रममा पालिका तथा वडा तहका नेता–कार्यकर्तासँग संगठनको अवस्था, स्थानीय समस्या, नागरिकका अपेक्षा तथा आगामी स्थानीय निर्वाचनको तयारीलगायतका विषयमा प्रत्यक्ष छलफल गरिने सचिव पन्थीले जानकारी दिनुभयो।

पार्टीका अनुसार अभियान केवल संगठनात्मक गतिविधिमा सीमित नरही स्थानीय तहमा देखिएका समस्या तथा नागरिकका अपेक्षा बुझ्ने र त्यसका आधारमा आगामी राजनीतिक तथा संगठनात्मक गतिविधिलाई थप व्यवस्थित गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको हो।

अभियानका लागि जिल्लामा आउने केन्द्रीय प्रतिनिधि तथा नेताहरूलाई रास्वपा अर्घाखाँचीले स्वागत गर्ने जनाएको छ। तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा जिल्लाका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयस्तरका सरोकारवालाको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको सचिव पन्थीले बताउनुभयो।

रास्वपा अर्घाखाँचीले अभियानमार्फत पालिका र वडा तहसम्म संगठनलाई थप सक्रिय बनाउँदै स्थानीय तहका समस्या तथा जनअपेक्षालाई केन्द्रसम्म जोड्ने उद्देश्य राखेको जनाएको छ।