भूमिकास्थान नगरपालिका खाद्यान्न उत्पादनमा परनर्भर

भूमिकास्थान नगरपालिकाको ढाकावाङमा

वीरेन्द्र केसी कान्तिपुर 
नुवाकोट, अर्घाखाँची  । ३२ हजार ६ सय ४० जनसंख्या रहेको भूमिकास्थान नगरपालिका खाद्यान्न उत्पादनमा आत्मनिर्भर छैन । स्थानीयको प्रमुख आम्दानी स्रोत नै भारत र तेस्रो मुलुकको रोजगारी हो ।
खेतीयोग्य फाँट प्रशस्तै छ । मोटरबाटो पनि सबै ठाउँ पुगेको छ । तर, उत्पादनै धेरै नहुने भएकाले बजारमा खासै पुग्दैन । चुनावताका उम्मेदवारले कृषि, पशुपालन र मसलाबाली उत्पादनमा नगरलाई आत्मनिर्भर बनाउने नारा चर्काए पनि अहिले त्यसको संकेतसम्म देखिँदैन । धेरै ठाउँ खानेपानीकै अभाव छ । यद्यपि जनप्रतिनिधिहरू खोलाको पानी डाँडोमा तान्ने र सिँचाइ सुविधा उपलब्ध गराएर मौसमी तथा बेमौसमी तरकारी खेती र पशुपालन वृद्धि गर्ने योजना बनाइरहेको दाबी गर्छन् । ‘हाम्रो लक्ष्य उत्पादन वृद्धि गर्ने हो,’ भूमिकास्थानका मेयर रेसम थापाले भने, ‘धेरै बस्ती सुक्खा छ । सिँचाइका योजना बनाएका छौं ।’
नगरका उपल्लो ढाकावाङ, खिल्जी, असुरकोट, नुवाकोटलगायत बस्तीमा वर्षाको पानी संकलन गर्न घरैपिच्छे घैंटा बनाइएको छ । यी बस्तीमा धनचौरस्थित ३० किमि दूरीको सेङलेङ मुहानबाट दुई दशक पहिले नै खानेपानी लगिएको थियो । तर, अहिले धारामा पानी आधा घटेको छ । सुक्खा बस्तीमा कृषिमा आधुनिकीकरण गर्न चुनौती छ । नगरसभामा विनियोजन गरेका ७० प्रतिशत योजना बल्ल सम्झौता भएका छन् । खाकाबेंसी, दुरुवाङ, फलामखिलीलगायत फाँट उब्जाउ मानिन्छन् । अब नगरका कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने बुझ्न माटो परीक्षण गर्ने र दीर्घकालीन आयमूलक कार्यक्रम सञ्चालनको योजना बनाउन लागेको थापाले बताए । आउँदो नगर परिषद्मा बाटोभन्दा आर्थिक समृद्धिका योजना ल्याउने उनले जनाए । ‘उर्वरभूमि छ । त्यसलाई अधिकतम सदुपयोग गरी कृषिमा आधुनिकीकरण गर्ने र कृषकलाई प्रोत्साहनमुखी कार्यक्रम ल्याउने तयारी छ,’ थापाले भने, ‘रोजगारीका लागि बिदेसिने युवाको संख्या घटाउन निर्वाहमुखी खेतीलाई व्यावसायिक बनाइनेछ ।’
मतदाता भने जनप्रतिनिधिले खासै काम गर्न नसकेको भन्दै असन्तुष्ट छन् । ढाकावाङका धनिश्वर खनाल जनप्रतिनिधिले भाषणमा समृद्धिका कुरा गरेपनि व्यवहारमा सुरुआत नै नगरेको बताउँछन् । ‘भाषण मात्रै भयो, समृद्ध बनाउने सोच र दृष्टिकोण केही देखिएन,’ उनले भने, ‘आठ महिनासम्म बाटो खन्ने डोजरको मात्र विकास भएको छ । जताजतै जेसीभीले बाटो, खेतबारी र डाँडाकाँडा भत्काएका मात्रै छन् ।’ सरकारी बजेटमा घरघरमा बाटो लैजानेबाहेक जनप्रतिनिधिमा उत्पादनमा आत्मनिर्भरता र समृद्धि बढाउने सोचै नदेखिएको उनले आरोप लगाए । युवा स्वरोजगार कार्यक्रम, घरेलु उद्योग विस्तार, जडीबुटी संकलन, आयआर्जनका योजना अघि सार्न नगरवासीको माग छ । जिल्लाको सबैभन्दा धेरै चिउरी उत्पादन यही नगरमै हुन्छ । धनचौर र ढिकुरामा सञ्चालित मौरीपालन व्यवसायकै कारण अर्घाखाँची मह उत्पादनमा देशकै चौथो स्थानमा पर्छ । चिउरी, घ्यु उद्योग नै स्थापना गर्न सकिने भए पनि त्यतातिर जनप्रतिनिधिको ध्यान नपुगेको धनचौरका वासुदेव अधिकारीले बताए । ‘जनप्रतिनिधि आएपछि पनि देखिने गरी समृद्धिका काम सुरु भएन, बजेट पुरानै ढाँचाको आयो,’ उनले भने ।
नगरका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासे पनि डोजरले पहाड फुटालेर मात्र समृद्धि हासिल नहुने बताउँछन् । ‘सडक वर्गीकरण गरेर मुख्य बाटोलाई कालोपत्रे र पिच गरिदिए पुग्छ । अब उत्पादनलाई नै जोड दिनुपर्छ,’ उनले भने । दोस्रो नगरसभाका लागि विज्ञको टिम बनाएर सबै टोलमा टोल विकास संस्था गठन गरी बस्तीबाटै दिगो विकास र उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ । नगर उपप्रमुख खडानन्द बेल्वासेले कर्मचारी र कार्यालय व्यवस्थापनमै लामो समय लागेकाले आउँदो बजेटमा दीर्घकालीन योजनामा पारिने दाबी गरे । ‘धान, मकै, गहुँ यहाँका मुख्य बाली हुन् । थोरै जग्गामा धेरै उत्पादन गराउने विधि अपनाउँछौं,’ उनले भने । 
भुमिकास्थान नगरपालिका वार्ड नं. ९ ढिकुरा स्थित सिबचौर गाउँ
भुमिकास्थान नगरपालिका वार्ड नं. ९ ढिकुरा 
भूमिकास्थान नगरपालिका वार्ड नम्बर १० साविक घनचौर गाबिसको डेभामा

अन्य समाचारहरु