पटौटी दूधबाट मनग्य आम्दानी भएपछि समृद्धितर्फ उन्मुख

पटौटीका कृषक डेरी उद्योगमा दूध संकलन गर्दै ।  
वीरेन्द्र केसी कान्तिपुर 
पटौटी, अर्घाखाँची । पाणिनि गाउँपालिका ४ पटौटीका शंकर घिमिरे ५ वर्ष साउदी बसेर फर्किएपछि पुन: उतै जाने सुरमा थिए । तर विदेश नगई गाउँमै पशुपालन गर्ने सोच बनाए ।
राहदानी सिरानीमुनि राखेर उनी गाईभैंसी पालनमा लागेका छन् । आफ्नो पेसालाई श्रीमती राधाले सघाएको उनले बताए । दैनिक १० लिटर दूध बिक्रीबाट गाउँमै बसेर शंकरले वर्षमा ४ लाख रुपैयाँ आम्दानी गरिरहेका छन् ।
सुरुमा नियालीमा दूध संकलन गरेर गाडीबाट पाल्पाको तानसेनसम्म पुग्थ्यो । एक वर्षदेखि गाउँलेको दूध देउराली छुर्पी उद्योगमा बिक्री हुन थाल्यो । पटौटीबाट तानसेन र जिल्ला सदरमुकाम पुग्न तीन घण्टा लाग्छ । पछिल्लो समय गाउँमा गाईभैंसी पाल्ने र दूध बेच्नेको प्रतिस्पर्धा नै चलेको छ । पटौटीका करिब ८५ परिवार दूध व्यवसायमा लागेको उनले बताए । ‘सोचेजस्तो रहेनछ विदेश,’ घिमिरेले भने, ‘बाबुबाजेले खेतबारीमा मलका लागि र दूध, घ्यू, मही, कुरौनी खान दुहुना पाल्थे । मैले आम्दानीका लागि पालेको छु । वर्षमा ४ लाख कमाइन्छ ।’ उनका अनुसार गाउँका सबैले गाईभैंसी पालेका छन् । वर्षमा दूध बिक्रीबाट ५० हजारदेखि ४ लाख रुपैयाँसम्म आम्दानी गर्ने कृषक गाउँमा छन् । दस वर्षमा २० जना विदेश जाने पुरुषले यहीं गाईभैंसी पाल्न सुरु गरेका छन् । पहिले दूध बिक्री गर्न हुँदैन भन्ने थियो । अहिले दूधबाट मनग्य आम्दानी भएपछि गाउँ समृद्धितर्फ उन्मुख छ ।
दूध जति उत्पादन भए पनि बिक्री नहोला भन्ने छैन । उत्पादन भएजति छुर्पी उद्योगले खरिद गर्छ । यहाँका कृषक संगठित भएर निगाली दुग्ध उत्पादन सहकारी संस्थामा आबद्ध छन् । संस्थाका कोषाध्यक्ष शिवलाल घिमिरेले दूध बिक्रीबाट वर्षमा पटौटी गाउँमा ६३ लाख रुपैयाँ भित्रिने गरेको बताए । ‘दूध बेच्नेको प्रतिस्प्रधै छ,’ उनले भने, ‘जति धेरै दूध बेच्यो, त्यति धेरै पैसा आउँछ । सबै खुसी छन् ।’ एक वर्षभित्रै दूध बिक्रीबाट १ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको उनले सुनाए । पढेलेखेका युवा पनि गाईभैंसी पालनमै तल्लीन छन् ।
गाउँमा उत्पादित सबै दूध यहींको छुर्पी उद्योगमा खपत भएपछि कृषक उत्साहित भएका हुन् । कृषक झविलाल घिमिरेले दैनिक ४ लिटर दूध बिक्री गर्छन् । सुर्ती, चुरोट छाडौं, छुर्पी रोजौं, स्वस्थ बनौं भनेर प्रचार भएपछि छुर्पीको माग बढ्दा कृषकको दूध पनि बिक्री हुन थालेको उनले बताए । वर्षमा एक लाख बचत भएको छ । ‘गाउँ आत्मनर्भिर नै बनेको छ,’ उनले भने, ‘सबैका परिवारले दूध बेच्छन् । अब ठूलो परिमाणमा दूध उत्पादन गर्ने लक्ष्य छ ।’ छुर्पी उद्योगमा सुनौलो दूध उत्पादक संस्थाबाट २ सय ५०, कुँडापानीबाट २ सय, सफल डेरीबाट २ सय ५०, अमृत दूध उत्पादन केन्द्रबाट १ सय ५० र पोखराथोक डेरीबाट ६० लिटर दूध आउँछ ।
सबै घरले थोरै–धेरै दूध बिक्री गर्दै आएको नियाली सहकारी अध्यक्ष यमलाल पाण्डेले बताए । परिवार धेरै हुनेले चार/पाँच गाईभैसी पालेका छन् । थोरै हुनेले पनि एउटा त पालेकै छन् । एउटा जर्सी गाईको दूध बेचेर महिनामा १०/१५ हजार रुपैयाँ सजिलै कमाइ हुन्छ । केही युवा अझै विदेशमा छन् । उनीहरूलाई पनि पशुपालनतिर लगाउने पाण्डेले बताए । ‘रोजगारी खोज्दै विदेश जान नपर्ने गरी गाईभैंसी पालेर घरखर्च, छोराछोरी पढाउन र केही बचत गर्न सकिन्छ,’ उनले भने, ‘मैले दैनिक ७ लिटर दूध बेच्छु । प्रतिलिटर ४५ रुपैयाँमा बिक्री हुन्छ ।’ दूध उत्पादन गरे पनि जताततै बजारको समस्या छ । तर, यहाँ त्यस्तो छैन । जति भए पनि नबिक्ला भन्ने डर छैन ।
यहाँका किसानमा बेग्लै उत्साह भएको तिलक गैरेले बताए । उनको दैनिकी गाईलाई घाँस, कुँडो, अन्नपात खुवाउने र कसरी धेरै दूध झार्ने भन्नेमै छ । चार रोपनी बारीमा घाँस खेती गरेका छन् । एउटा मुर्रा भैंसी थियो । जर्सी गाई थपेका छन् । जर्सी गाई र मुर्रा भैंसीले धेरै दूध दिन्छन् । सबैका घरमा यिनै जातका पशु छन् । सात वर्ष पहिले घरमा चामल, नुनतेल किन्न र परिवारलाई लत्ताकपडा जुटाउन साहूकहाँ ऋण काड्न बाध्य भएको उनले बताए । साहूले चर्काे ब्याज ल्याउँथे । जीवन धान्न धौधौ थियो । दूध बिक्री गर्न थालेपछि त्यस्तो नभएको उनी सुनाउँछन् । ‘साहूको ऋण चुक्ता भयो, त्यसपछि पैसाको चिन्ता भएन,’ उनले भने, ‘अहिले खल्तीमै दुई/चार हजार टुट्दैन ।’ जिल्ला पशुसेवाले नियालीमा चिलिङ भ्याटलगायत सामग्री दिएको छ । अहिलेसम्म २७ लाख रुपैयाँ बराबरको लगानी भएको पशु चिकित्सक विष्णु पौडेलले बताए । दूध बेचेर यहाँका सबै कृषक स्वरोजगार बनेका छन् ।

अन्य समाचारहरु