अर्घाखाँचीमा मसलाबालीबाट १८ करोड रुपैयाँ वार्षिक कारोबार


वीरेन्द्र केसी कान्तिपुर
सिद्धारा, अर्घाखाँची । परिकार स्वादिलो बनाउन मसला चाहिन्छ । त्यसैले अदुवा, बेसार, प्याज, लसुन, धनिया र खुर्सानी प्राय:का भान्सामा टुटदैन । जोकोहीले मसलाबालीका उत्पादन खोजीखोजी किन्छन् । आफ्नै करेसाबारीमा पनि खेती गर्छन् ।
उत्पादनले बजार पाएपछि व्यावसायिक खेती गर्नेको संख्यासमेत बर्सेनि बढदै गएको छ । पहाडका उत्पादन राम्रो मान्दै तराईदेखि माग अत्यधिक हुन्छ । जिल्लाबाहिर जाने मसलाबालीमा अदुवा सबैभन्दा बढी छ । अरू त गाउँघरमै खपत हुन्छन् । मसलाबालीको जिल्लामा प्रत्येक वर्ष १८ करोड रुपैयाँको कारोबार हुने कृषि कार्यालयले जनाएको छ ।
यस वर्ष भने गानो कुहिने रोगले अदुवा उत्पादन घटेको छ । चार सय हेक्टरमा ३ हजार ९ सय ६८ मेट्रिकटन अदुवा उत्पादनबाट ११ करोडको कारोबार भएको कृषि प्रचार अधिकृत थीरलाल गैरेले बताए । यो जिल्ला भित्र र बाहिर खपत भएको तथ्यांक हो । एक रोपनीमा १.५ मेट्रिकटनसम्म कपुरकोट जातको अदुवा फल्छ । अरू बालीमा नयाँ जात भए पनि अदुवामा अहिलेसम्म बढी उत्पादन हुने विकास गर्न सरकारको ध्यान नपुगेको उनले बताए । १ सय ४३ हेक्टरमा ११ सय ४४ मेट्रिकटन बेसार उत्पादनबाट २ करोड रुपैयाँको कारोबार भएको छ ।
प्याज, लसुन खुर्सानीबाट १ हजार १५ मेट्रिक्टनबाट ५ करोडको कारोबार भएको उनले बताए । मसलाबालीको बाह्रै महिना माग बढदो छ । यत्तिकै तरकारी, अचार, दाल, मासुका परिकारमा तयारी गर्ने भान्सामा आजभोलि मसला प्रयोगमा आउनाले पनि माग बढेको उनले बताए । अरूको तुलनामा लसुन र प्याज उत्पादन कम छ । लोकल लसुन महँगोमा बिक्री हुन्छ । बजारमा चाइनिज लसुनभन्दा यहीं उत्पादन भएको नै धेरैको रुचीमा पर्छ । छिटफुट मात्रै गाउँमा पाइन्छ ।
मसलाबाली उत्पादन बढाउन पालिकाले कार्यक्रम ल्याउनुपर्ने उनले बताए । दैनिक अत्यावश्यक खाद्यवस्तुमा पर्ने भएकाले जति भए पनि नबिक्ला भन्ने चिन्ता छैन ।
जिल्लाको दक्षिणी क्षेत्र शीतगंगा नगरपालिकाको सिद्धारा, सिमलपानी, ठाडा, जलुके, जुकेनामा प्रशस्त उत्पादन हुन्छ । पोखराथोक, पणेना, खिदिम, ठूलापोखरा, बल्कोटलगायतमा पनि व्यावसायिक उत्पादन थालिएको छ । पुस्तौंदेखि घरमा खान र इस्टमित्रकहाँ पाहुर पठाउन खेती गरिए पनि अहिले व्यावसायिक खेती गरिँदै आएको सिद्धाराका हिक्मत पोखरेलले बताए । अुदवा र बेसार खेती धेरै हुन्छ । अदुवामा लाग्ने रोग निदान नहँुदा गानो र डाँक्लो कुहिन्छ । सोचेजस्तो आम्दानी छैन, उनले भने ।
मसलाबाली पहिले खेती नगर्नेले पनि घरखर्चकै लागि लगाउन थालेका छन् । यो बाली विस्तारै व्यावसायीकरण बन्दै गएको उनले बताए । जिल्लामा उत्पादित अदुवा पाल्पा, बुटवल र कपिलवस्तुसम्म पुग्ने गरेको छ । ठूलापोखरामा कृष्णप्रसाद पाण्डेले बेसार उद्योग खोलेर कारोबार थालेका छन् । वर्षमा दस टन, धूलो, चाना र दुई टन अदुवाको सुठो बिक्री गरेको उनले सुनाए । उनी आफैंले पनि बारीमा खेती गर्छन् । काँचो बेसार खरिद गरेर मेसिनमा धूलो बनाई बिक्रीबाट वर्षमा तीन लाख रुपैयाँसम्म कमाएको उनले बताए । पोखराथोकमा दस रोपनी बारीमा अच्यूत गौतमले मसलाबाली लगाउन थालेका छन् । आफ्नो उत्पादन उनले धूलो बनाई बिक्री गर्छन् । पहाडको बेसार मिसावट नभएकाले माग थेगिसक्नु नभएको उनले बताए । बेसार र खुर्सानीबाट उनले वर्षमा अढाई लाख आम्दानी गर्छन् । ‘खुर्सानी, लसुन, प्याजको यति धेरै माग छ तर सरकारले चासो दिँदैन,’ ठाडाकी विमला बेल्बासेले भनिन्, ‘उत्पादनमुखी कार्यक्रम ल्याएर योजनाबद्ध रूपमा कृषकलाई खेती गर्न लगाउनुपर्छ । रोग निदान र बीउको व्यवस्था गर्नुपर्छ ।’ व्यावसायिक रूपमा खुर्सानी, प्याज र लसुन उत्पादन गरे भारतको भर पर्नुपर्ने थिएन, उनले भनिन् । स्वरोजगारको आधार मसलाबाली भएको उनको दाबी छ ।
सांसद र जनप्रतिनिधिले समृद्ध गाउँ बनाउँछौं भनेर नारा लगाएका छन् । तर, मसलाबाली विस्तार गर्न बजेट विनियोजन गरी कार्यक्रम सुरु गर्नेतिर ध्यान छैन, ठाडाका नारायण बेल्बासेले भने । उनले वर्षमा एक लाख रुपैयाँको अदुवा, बेसार र खुर्सानी बेच्छन् । शीतगंगा नगरपालिका प्रमुख सूर्यप्रसाद अधिकारीले मसलाबालीमा आउँदो नगरसभाबाट बजेट विनियोजन गरेर उत्पादनमुखी कार्यक्रम ल्याउने जनााए । तीन नगर र तीन गापामा मसलाबालीमा छुट्टै बजेट कतै छैन । तरकारी खेतीमा मात्रै बजेट छ । ‘कृषिमा ९० लाख रुपैयाँभन्दा बढी छुट्टाएका छौं,’ भूमिकास्थान नगरपालिका प्रमुख रेशम थापाले भने, ‘मसलाबालीमै भनेर बजेट छैन । आउँदो वर्षबाट मसलाबालीमा छुट्ट्रै बजेट विनियोजन गर्नेछौं ।’ 

अन्य समाचारहरु