अष्ट्रियामा आफ्नै तीन सन्तानको हत्या गर्ने गुल्मीकी नेपाली महिलाको बयान सार्वजनिक

अष्ट्रियामा आफ्नै तीन सन्तानको हत्या गर्ने गुल्मीकी नेपाली महिलाको बयान सार्वजनिक

अष्ट्रियाको राजधानी भियनामा आफ्नै तीन सन्तानको हत्या गरेर सनसनी मच्चाएकी ३१ वर्षीया नेपाली महिला चन्द्रा भट्टराई अर्यालले अष्ट्रियन अपराध अनुसन्धानका प्रहरीलाई दिएको बयानको अंश बाहिरिएको छ । स्थानीय पत्रपत्रिकाहरुले अभियुक्त महिलाले दिएको वयानबारे समाचार प्रकाशित गरेका छन् ।

अभियुक्त महिलाको नेपाल घर गुल्मी हो । उनीहरुको परिवार गुल्मीबाट बुटवल मणिग्राम सरेको थियो।

प्रहरीसमक्ष अभियुक्त महिलाले आफ्नो अपराध स्वीकार गरेकी छन् । आफ्ना नाबालक सन्तानहरुको हत्या किन गऱ्यौ भनी प्रहरीले गरेको प्रश्नको जवाफमा भट्टराई थरकी अभियुक्त महिलाले भनेकी छन्- ‘मेरो श्रीमानसँग धेरैजसो विषयमा झगडा भइरहन्थ्यो । केही समय पहिला पनि हाम्रो झगडा भएको थियो, जुन कारणले प्रहरीले श्रीमानलाई दुई हप्ता घरमा बस्न प्रतिबन्ध लगाएको थियो । तर, मैले नै प्रहरीसमक्ष थप प्रतिबन्ध नलगाउनु भनेको कारण श्रीमान घरमा आएका थिए । तथापि, घर आएपछि पुनः विवाद बढ्दै गयो । यसरी सधैं झगडा गरेर बसिरहनु भन्दा छोडपत्र गर्नु राम्रो हुन्छ भन्ने मेरो राय थियो, तर मेरा श्रीमानले यदि तैँले छोडेको खण्डमा तँलाई कुनै सम्पति दिन्न र नेपाल डिपोर्ट गरिदिन्छु भन्ने खालका धम्की हरदम दिने गर्दथे । श्रीमानले मलाई खानामा विष मिसाएर दिने गर्छन् भन्ने पनि मलाई लाग्थ्यो । श्रीमानको व्यवहार र धम्कीहरुबाट मलाई सधैं अत्याधिक डर उत्पन्न हुने गर्दथ्यो र मैले मेरा सन्तानहरुलाई सधैंको लागि गुमाउने छु भन्ने खालको कल्पनाले मलाई अत्यास लाग्दथ्यो । त्यही कारणले मैले मेरा सन्तानको हत्या गरेँ ।’

हत्या कसरि गऱ्यौ भन्ने प्रश्नमा अभुयुक्त भन्छिन्, ‘बेलुकीको खाना तयार गरेर छोराछोरीलाइ खुवाएँ । बच्चाहरु साँझको ९ बजे नै बेडमा गएर निदाए, म पनि सुतेँ । आठ महिनाको छोरा भोकका कारण राति उठ्यो र रुन थाल्यो । म पनि उठेँ र दुध तताएर बोतलमा राखी खुवाएँ । दुध पिएपछि सानो छोरा फेरि सुत्यो । गत फेब्रुअरीमा जन्मेको बच्चा जन्मिँदै मुटुको समस्या लिएर जन्मिएको थियो । आठ महिनाको छोरा सुतेपछि मलाई एक प्रकारको डर उत्पन्न भयो, जुन डरले मलाई अत्यधिक पीडा दियो, किनकि म मेरा बच्चाहरुदेखि अलग रहेर बाँच्न चाहन्नथेँ ।’

‘म हतास मनस्थितिमा थिएँ । के गरौँ भन्ने सोच्न सकेको थिइनँ ।’ बलिन्द्रधारा आँशु झार्दै अभियुक्तले भनिन्, ‘अचानक मैले सानो बाबु सुत्ने बेडको पहेलो रंगको सिरानी लिएँ । उक्त सिरानीले आठ महिनाको बाबुको अनुहार दबाएँ, कुनै ठुलो छटपटाहटबिना नै सानो छोरा हलचल नगर्ने बन्यो । सानो तीन वर्षीया छोरीलाई पनि सुतिरहेकै अवस्थामा सोही सिरानीले सानो छोरालाई जस्तै गरेर थिचेँ । सानो छोरी पनि निद्राकै अवस्थामा एकैछिनमा हलचल गर्न नसक्ने अवस्थामा पुगी । त्यसपछि मैले नौ वर्षीया छोरीलाई पनि सोही सिरानीले थिचेँ । तर उ निद्राबाट ब्युँझिइ र मेरो अनुहारमा कोतर्ने प्रयास गरी । नौ वर्षीया छोरीले आफ्नो शक्तिले भ्याएसम्म प्रतिकार गरिन् तर मैले पनि सकेको बल लगाएर थिचेँ जबसम्म उनी स्थिर बनिनन् ।’

अभियुक्तको बयानअनुसार त्यसपछि उनी आफ्नो भान्साकोठामा गइन् र आत्महत्याको मनसाय बनाइन् । तर उनलाई आत्महत्या गर्ने साहस भएन । त्यसपछि उनले छोरीको मोबाइल फोनबाट प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिइन् ।

घटना र विचार साप्ताहिकमा प्रकासित समाचार अनुसार यतिबेला भियनाको न्यायिक हिरासतमा रहेकी अभियुक्तले आफूलाई घात गर्न सक्ने अवस्था भएको कारण उनमाथि २४सै घण्टा प्रहरीको निगरानीमा राखिएको छ ।  

अन्य समाचारहरु