खेलौना थरिथरि, सत्य बराबरी (कविता/ भजन लयमा )

खेलौना थरिथरि, सत्य बराबरी (कविता/ भजन लयमा )

पिताम्बर बन्जाडे

जिन्दगीमा दुईटा कुरा पक्कै साँचो छ 
जन्मीएको साँचो हो जानु पक्कै छ ।
भन्न सरल, बुझ्न गाह्रो, गर्न कठिन छ 
थाहा हुँदाहुँदै पनि भुल्नु छक्कै छ ।।

सानो छदा साँच्चै लाग्थ्यो गुच्चा खेलौना ।
जवानीमा मायाप्रीति ठुला खेलौना ।
धनसम्पत्ती छोराछोरी आए भुलाउन ।
खेलैखेलमा बिती जान्छ छोंटो जीवन 
जन्मीएको साँचो हो जानु पक्कै छ ।
थाहा हुँदाहुँदै पनि भुल्नु छक्कै छ ।।

कोही हुन्छन् ठुला हाकिम ,कोही बिचरी ।
आखिरीमा जाने बेला सबै बराबरी ।।
खेलौनामा धनीगरिव ,हुन्छन् थरिथरि ।
आखिरीमा सवकालागि चिता बराबरी ।।
जन्मिएको साँचो हो जानु पक्कै छ ।
थाहा हुँदाहुँदै पनि भुल्नु छक्कै छ ।।

कोही खान्छन् मेवामिष्ठान ,कोही भुटोपोलो ।
आखिरीमा सवका लागि पिण्ड समान गोलो ।।
के गरेर सार्थक हुन्छ मानिसको चोला 
जन्म मरण याद राखे मुक्ति मिल्छ होला ।।
भन्न सरल, बुझ्न गाह्रो, गर्न कठिन छ 
जन्मिएको साँचो हो, जानु पक्कै छ ।
थाहा हुँदाहुँदै पनि भुल्नु छक्कै छ !!!