म सम्झन्छु, बा' नुन किन्न घिउ बोकेर पथ्रकोट हिँडेको ।
म सम्झन्छु, यहि कुरा मलाई बा'हरुले भनेको ।
भर्खर, नुन लेईदियो, लेईदिनेले । आजकल नुन घरमै डेलिभरी गर्दिन्छ दोकाने । दुध पनि उसैगरी गेटमा छोडिदिन्छ ।
अनि हिँजो नौनी किनेको हुँ डेरिबाट । - यि अचेलका कुरा हुन् । बैगुनी शहरका कुरा हुन् ।
म जस्ता भुराका कुरा हुन् ।
म सम्झन्छु, घरभरी भएका लैना बकेर्ना । र सम्झन्छु मुई पारेर घिउ निकालेको, खारेको पनि सम्झन्छु ।
सम्झनाहरु धेरैछन् ।
जमना खोला जस्तो बगिरहेछ ...
सन् ९० भन्दा पहिला जन्मिनेहरु भुक्तभोगी हुन् । उनिहरुले धेरै कुरा भोगे । धेरै दुःख गरे ।
त्यसपछी जन्मिएकाहरु, हो र ! वाला हुन् । उनिहरुलाई सबैकुरा, हो र ! लाग्छ । कथा जस्तो लाग्छ । कस्तो कस्तो लाग्छ । oh god ! जस्तो लाग्छ ।
अपवाद केहिले अझै भोग्दै छन् । बरु भोग्ने कुराहरु पातलिए ।
***
पानी,
आजकल गित आएको छ एउटा, "मै पानी पानी हो गै..."
सुन्नु/ हेर्नु भएको छ ?
यो गितको नाच अचम्मको छ । सारङ्गि जस्तो दुई हात टाउको माथी पुर्याई रेटेर, कम्मर लचक्क लचक्क गर्नु पर्ने । त्यो भनेको पानी पानी भएको रे !
हाहाहा, जमाना...
खोला जस्तो बगिरहेको छ ।
उ बेला हामी पनि पानी पानी हुन्थ्यौँ ।
पँधेराबाट पानी ल्याउँदा गाग्रीमा, बुझो नमिलेर छचल्किन्थ्यो । अनि छचल्केको पानी डोकाको पिँध हुँदै कम्मर मुनिको भागवाट सबै कुराहरु चार्दै कुर्कुच्चा पुग्थे र चप्पल भिजाउँथे ।
हामी पानी पानी हुन्थ्यौँ । हाम्रा भिजेका भागहरु पानी पानी हुन्थे ।
भिजेका चप्पलमा बाटाको धुलो मिसिएपछी लर्किन्थे । तना छिँद्थे । हामी लोड्तिम्, डोको घोप्टिएर बाटो पानी पानी हुन्थ्यो ।
घुर्रो काट्न गएकि आमा घर फर्कदाँ भिजेर पानी पानी हुन्थिन् । गोरु लेर गएका बा, तिर्खा लाग्दा बनमा कुन्टो नभेटाउँदा पानी पानी हुन्थे ।
घर, छानो खरको । चुहिएर पाली, पिँढि पानी पानी हुन्थे ।
हो, हामी पनि पानी पानी हुन्तिम् ।
बेला बेला ८ पुगेकि मेरी छोरी पनि पानी पानी हुन्छे, टिभि हेरेर ।
उसलाई यो गितका लिरिक्क सप्पै थाहा छ । जब गितमा केटाले र्याप हान्छ, र भन्न थाल्छ -
" चलेगी क्या
गिलास पडा हे खाली भरेगी क्या
साथ आए लौन्डे से डरेगी क्या
अन्दरके फिलिङसे खेलेगी क्या
हैँ
हद हो गै...
हद से आगे हि बढेगी क्या..... क्रमश...
नानिले खुब इन्जोय गर्छे ।
गितले भनेको बुझ्दी हो की ? अहँ नबुझोस् ! तर कहिले सम्म !
खैर जमना,
खोला जस्तै बगिरहेछ ।
अँस्ती एउटा तिजको गित आएछ । ख्याँस्स पुतली !
सुने, सुन्दा सुन्दै ढोका ढ्याप्प पारी भोल्युम घटाएँ । र सबै शब्दहरु एक एक केलाएँ ।
मन बिग्रीयो । जिउ तात्यो । हत्केला कामे । पसिना खलखली आए ।
हत्तेरी, यो के हो ! यि कस्ता गित ! नया पुस्ताले सुन्ने तिज गित यिनै हुन त !
"रातो साडि उचाली ख्याँस्स पुतली ! "
"थुक्क दुर्गेस !
तँ सर्जक होइनस् , संस्कृती धमिल्याउने फोहोर होस् ।"
बडबडाएँ एक्लै । अनयासै मुखबाट ठिक ठिकै खाले सिर्फुल शब्द निस्किए । आफैले मात्रै सुन्ने गरी फोहोर बोलेँ ।
रिस उठेको बेला, म तिलमिलाउँछु । बिर्सन्छु केही, जो गर्नै हुन्न ।
त्यो दिन मन खुब धमिलो भो । हरेक दिन स्वादे बनाउनु पर्छ भन्ने म, त्यो दिन बेस्वादे भएँ ।
दिनभरी मेलातिर, धेरै सम्झनाहरु मनमा आईराखे ।
मैले सम्झिएँ,
बेल्का भएपछी गाउँमा हुने तिजका रामहरु । जहाँ आमाहरु, भाउजुहरु, दिदीहरु, बैनिहरु र हामी केटाकेटि, ठुला सबै जुट्थ्यौँ । हातमा राँको बालेर गाउँको बिचतिर सबैलाई पाई पर्ने ठाउँमा पुग्तिम् । सबै गोलो घेरा बनाएर बस्ते । बजाउन जानेकाहरुले जोर मादल ठोक्ते । आमाहरुले भाका हाल्ते । नाच्ने थाउलाहरु दुईतिन्टा हुन्ते । तन्नेरि युवायुवती जोडि नाच्थे ।
मैन्टोलको उज्यालोमा दिदी बैनिहरु धित पुगुन्जेल नाच्ते । र मनभरी उत्साह बोकेर घर फर्कन्ते ।
तिज, तिज जस्तो थियो ।
भाकाहरु सामाजिक थिए । कथा बोकेका हुन्थे । मधुर हुन्थे ।
त आजकल,
जमना
खोला जस्तै बगिरहेको छ । संस्कृती बग्दै बग्दै गएको छ ।
धुर्बताराबाट, ख्याँसपुतलि सम्म स्खलित भएको छ ।
मेलो सकेर बेल्का घर फर्किएँ
भित्र टिभिमा त्यहि गित 'ख्याँस पुतली' बजिरहेको थियो । नानिले हेर्दै थि । मन खस्कियो । दिनभरी गलेको म हिलो जस्तो भएँ ।
पछी सुत्नेबेला, नानीलाई तिज शिर्षकको कथा सुनाएँ । जसमा,
उ बेलाको तिज, समाज, संस्कृती र अहिले उत्ताउलो पना- सबै बुझाएँ ।
उमेर अनुसार सायद उसले थोरैधेरै केहि त बुझी होला ।
अर्को दिन,
मैले त्यहि गित नानिको अगाडि बजाएर सुने । खासमा उसले के बुझि जान्नु थियो ।
गित सुन्दा बित्तिकै नानी दगुर्दै आई र भनि- बाबा, बन्द गर्नुस् यो ।
यो गित ठिक छैन । अर्को सुन्नुस् ।
उसका कुरा सुनेको म, मुसुक्क हाँसेर सानिमाया सुने । उ मैसँग बसेर सबै सुनि । र नबुझेका शब्दहरु सोधी राखी ...
म चाहन्छु,
उसले सहि र गलत छुट्ट्याओस् ।
भोलि उसको हो । उसले हाम्रो परम्परा, समाज डोर्याउनु छ । पुस्तान्तरण गर्नु छ ।
आसा छ, गर्छे । सबै केटाकेटिले गर्नेछन् । बस हामी बा/ आमाहरु सचेत हुन जरुरी छ ।
म सम्झछु,
यो सम्झने मन म बिर्सु कसरी !
घरमा बाल्ख हुनु भनेको, घरी घरी आफु पनि बाल्ख हुनु रहेछ ।
बाल्खहरुसँग खेल्दा बाल्ख भैदिनु पर्दो रहेछ । बाल्ख सँग बाल्ख भएर खेल्दा आफ्नो बाल्खकालमा पुगिदो रहेछ ।
त्यसैले म हरेक दिन स्मृतीको टाईम मेसिन चडेर बाल्ख उमेर पुग्छु । रमाउँछु । हाँस्छु । नाच्छु ।
समय समयमा यस्तो गर्नु, एउटा गहिरो ध्यान गर्नु बराबर हो । आफैलाई पढ्नु हो । आफु भित्र पुग्नु हो ।
त्यसो गर्नु भनेको- मनको मैलो पखाल्नु हो ।
पखालिरहनु पर्छ ।
बिगतका राम्रा कुराहरु सम्झिए, बर्तमान उज्यालो हुन्छ । बर्तमान उज्यालो भए भबिश्यको मार्ग देख्न सकिन्छ । देखे, पुगिन्छ ।
आखिर मर्नु त छ, पुग्नु त छ । बाहारुले पर्खिरहनु भएको छ ।
तहाँ पुगेपछी, यहाँ भन्दा धेरै आफ्नाहरु भेट्न पाईन्छ । मृत्यु क्षणिक दुःख हो, जिउँदाहरुका लागी ।
पहिल्लै गन्तब्य नापेकाहरु जो पुगि सके, उनिहरुका लागि वेलकम सेरोमनि हो । सायद उत्सव हो ।
त्यो उत्सव कस्तो हुँदो हो ! पक्कै 'ख्याँसपुतलि' बज्दैन होला त्याँ ।
पानी पानी गितको गाएक त यतै छ क्यार, त्यो तहाँ नबज्ला !
के बज्ला ?
नारायण गोपालको- यो सम्झिने मन म बिर्षु कसरी !
बज्ला, पक्कै बज्ला ।
किनकी उनी उतै छन् ।
यहि बजोस् । सम्झिने मन सुन्दा- बाटो लागेकाहरुको मन शित्तल होस् । उनिहरुले जिउँदो जिवन सम्झिउन् ।
अँ,
बाल्ख मन् , बाल्ख हर्कत !
म सम्झन्छु, समाज उस्तै थ्यो । सँगै थ्यो ।
बाहरु पथ्रकोट जाँदा गाउँभरीका जुटेर जान्थे रे ! भनेको बाहरुले भनेको सम्झन्छु ।
सम्झनाहरु धेरैछन् ।
जमना खोला जस्तै बगिरह्यो...
***
अचेल,
एक ठाउँको समाज एकैठाउँ छैन । यत्रतत्र छ । एउटै पधेराको पानी खाने उहि समाज अहिले कहाँ कहाँ पुग्यो ।
त्यो बुटवल पुग्यो, पुग्नेहरु बिचको समाज बन्यो । काठमान्डु पुग्यो, तहिं बन्यो । भारत, मलेसिया, दुबै, जापान, कोरिया, युरोप अमेरिका...
समाज यत्रतत्र !
न मुलको पानी, न कुलको संस्कार !
पानी बोत्तलको, संस्कार उत्ताउलो ।
समाजले हाँगा हाल्यो, फुल्यो- फल्न सकेन ।
हिँजो पथरकोट हिँडेका बाहरु सँगै जान्थे, सँगै फर्कन्थे । सँगसँगै खेतिपाति गर्थे । सँगै बाउँसे गर्थे । घर छाउँथे । अर्नी खान्ते । भजन गाउँते । अहँ, खै को छुट्टियो ?
छुट्टिएनन् , बाँडिएनन् । एकैथाम बसे । समाज बनाएँ । सायद स्वर्गमा पनि सँगै होलान् !
कि तहाँ पनि कमाउन हिँड्न पर्छ ? कतै बाहरु स्वर्गको- नर्क , लाहुर त छैनन् ।
हे इश्वर, त्यस्तो नहोस् । तहाँ समाजले हाँगा नहालोस् । फुल लाग्ने, फल नालग्ने नहोस् ।
हो ,
अहिले हामी जिउँदा हाँगाहरुको साझा समाज गाउँ हो । जहाँ अहिले पनि,
फलेको संस्कार छ । प्रेम छ, सम्मान छ, इज्जत छ ।
बेला बेला हामी त्यहि स्वाद लिन पुग्छौ ।
हिँजो पथरकोट हिनेकाहरु सँगै फर्किए । आज हिन्नेहरुको गन्तब्य एउटै रहेन ।
संसारभर पोखिए । ति फर्किएलान् त सँगै ! नो, नो रे बाबा.....
इम्पोसिबल ।
जमना,
खोला जस्तै बगिरह्यो ।
म सम्झन्छु,
लाहुर बाट आएका मेरा बाले खेत किनेको ।
म खेत किन्न लाहुर गएका हजुरोवबा उतै बित्नु भयो भनेर आँबैले भनेको सम्झन्छु ।
यो सम्झिने मन म बिर्षु कसरी । बा, हामी आउँछौ...
पालै पालो आउँछौ ।
खेत किन्दा- आँबैले नातिनातिना भोकै मर्दैनन् भनेको सम्झन्छु ।
खर्यान किन्दा- आमाले भैँसी थपेको सम्झन्छु ।
रेडियो किन्दा - घटना र बिचार सुन्न मुन्तिर मात्थिरका जुटेको सम्झन्छु ।
जमाना,
खोला जस्तै बग्दोरहेछ ।
अचेल,
महरुलाई पाटो हैन सहरमा टाटो चाहिएको छ । घर हैन बास चाहिएको छ । खेती बस्तुभाउ- who care !
आमा,
तिम्ले किन अझै बाख्रा पाल्छेउ गाउँमा ? किन घर पोत्छेउ बिहान बेल्का ? किन धुरिमा धजा बाँध्छेउ ?
किन घर बढारिरहन्छेउ ? किन बर्सेनी बिरुवा रोप्छेउ ?
कसको लागी ?
आफ्ना लागी हो, गर आमा । छोराहरुको लागी हो भने- ब्यर्थै दुख हो ।
केटाहरु फसे आमा, हिलो गरेको खेतमा खुट्टा गडेजस्तो गडे ।
खेतबाट खुट्टा त निस्किन्छन् आमा, सहरमा केटाहरु झन झन भासिए ।
अहँ निस्कन सक्दैनन् । सहरले निल्यो । दुःखी छन् ।
आमा,
अब खेत हेरेर भकारी नसम्झनु । ति भरिने छैनन् । खरेन हेरेर, गोरु नसम्झनु ।
कटेराको किलो देखेर, कुँडे नसम्झनु ।
अगेनो देखेर, ओरिपरि घाङ्ग हालेर आगोताप्ने परिवार नसम्झनु ।
मकैका घुँघा देख्दा छोरा नसम्झनु ।
आमा,
केही नसम्झनु । चल्ला हराएका पोथिँ देखेर, आफुलाई नसम्झनु ।
डुब्दो घाम देखेर उमेर त झन सम्झदै नसम्झनु ।
बस दशैँ सम्झनु,
घर भरिन्छ आमा । झिँझो लाग्ने गरि भरिन्छ ।
जमाना,
खोला जस्तै बग्दोरहेछ ।
यो सम्झने मन म बिर्सु कसोरी .......