श्रीलंकामा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि मुख्य मुख्य निकायमा राजापाक्षे परिवारका सदस्य नियुक्त

श्रीलंकामा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि मुख्य मुख्य निकायमा राजापाक्षे परिवारका सदस्य नियुक्त


एजेन्सी

 असार २५ । श्रीलंकामा राजापाक्षे परिवारको हातमा सम्पूर्ण सत्ता केन्द्रित गरिएको छ । मुलुकको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि मुख्य मुख्य निकायमा राजापाक्षे परिवारका सदस्य नियुक्त गरिएको छ ।

यसअघि राष्ट्रपति, प्रधानमन्त्री र प्रभावशाली मन्त्रीमा राजापाक्षे परिवारका दाजुभाई रहेकै समयमा पछिल्लो पटकको मन्त्रिपरिषद विस्तारमा फेरि नयाँ सदस्य थपिएको हो ।

बासिल राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेका भाइलाई नयाँ मन्त्री बनाइएको हो । बिहीबार मन्त्री बनाइएकामा ७० वर्षीय बासिल राजापाक्षे हुन् । उनलाई श्रीलंका सरकारको महत्वपूर्ण मन्त्रालय अर्थात् अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

७५ वर्षका प्रधानमन्त्री महिन्दा यसअघि, सन् २०१५ सम्म श्रीलंकाका राष्ट्रपति थिए । उनी राष्ट्रपति रहेका समयमा भाइ बासिलले नै आर्थिक रणनीति बनाउने गरेको श्रीलंकाली सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यद्यपि, उनीमाथि ठूला परियोजनाहरुमा कमिशन लिने गरेको आरोप लागेको छ । त्यही कारण उनलाई दश प्रतिशतको संज्ञासमेत दिइन्थ्यो । सन् २००७ मा अमेरिकी राजदूतावासले उनलाई ‘मिस्टर १० प्रतिशत’ भन्ने गरेको विकिलिक्सले लिक गरेको थियो ।

उनलाई मन्त्री बनाइसँगै अब मन्त्रिपरिषदमा राजापाक्षे परिवारबाट मन्त्री बन्नेको संख्या पाँच पुगेको छ । राजापाक्षेका ७८ वर्षीय जेठा दाई छामल भने सिँचाइ मन्त्री हुँदा महिन्दाका छोरा ३५ वर्षीय नमाल राजपाक्षेलाई युवा तथा खेलकुद मन्त्री बनाइएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार राजापाक्षे परिवारका अरु थुप्रैंलाई सहायक मन्त्री र प्रशासनका महत्वपूर्ण पदमा नियुक्त गरिएको छ ।

अन्य समाचारहरु