कविता: गाउँका बिलौना

कविता: गाउँका बिलौना

- विनय बन्जाडे

छन्द : शार्दूलविक्रीडित

१.
गाथा रोदनका म देख्छु अहिले, सुनसान बस्तीहरु
सन्नटा चकमन्न गाम घरका, पीँडा र सख्तीहरु!
यो चित्कार पुराइदे बन चरी, सन्तानका कानमा
बिर्सेछन् कि कतै पुनीत जननी, प्रदेशका गानमा!

२.
आमाका बहका मनोभव सबै, कुन् शब्दमा पाउला?
बाबाका कुम का दुखाइ कसरी, पन्ना उपर् आउला?!
पुर्खाका पदका निसान लिएका, बाटा अलप् भै गए
चौतारी,मठ, शैल, मन्दिर सबै, वैभव् यि ढल्ने भए!

३.
भम्छन् मानिसको जुनी जगतमा, भो पूर्व का धर्मले
बेरेको दुखले टरेन टहरा, त्यो भक्ति यो कर्मले!
सकेको तनले गरे ति दिनमा, कर्तव्य उन्को पनि
आउन्नन् किन आज सम्झि घर यो, आमा नरोऊ भनी!

४.
फुस्रो आगनको परीधि हरियो, चौकोस झाडी सरि
रित्तो गुँड कुरेर बस्छन् बखुरा, नाना बिलौना गरि!
बाँझो होइन कोख दीनहरु को, रित्तो अहिले भयो
एक्लै रोएर बस्छ आज ममता, ब्यर्थै छ संसार यो!

५.
हुर्केका बचरा उडे गगनमा, संसार आफ्नो भरी
पोखिन्छन् वह आँशुका लहरमा, सुर्ता उनैका परि!
रम्छन् रे! दुर देशका शहरमा, हुर्काइ बाला पनि
को जान्थ्यो बदलिन्छ रीत यसरी, संस्कार मर्छन् भनि!

६.
छैनन् स्वप्न विशाल शेष अहिले, वृद्धा मुमाका यहाँ
छैनन् माग कठोर बन्धन कुनै, जीर्ण यि बाबा कहाँ!
यी नेत्रजलले पिरोल्छ गहिरो, हे बटुवा सन्तती
तिम्रो घर् छ यता हिमाल समिपै, भुल्छौ अझै खै कति?