अर्घाखाँचीमा एकीकृत समाजवादीले असोज २ गते पार्टी रुपान्तरण कार्यक्रम गर्ने, २०० सदस्यीय जिल्ला कमिटी बन्ने

अर्घाखाँचीमा एकीकृत समाजवादीले असोज २ गते पार्टी रुपान्तरण कार्यक्रम गर्ने, २०० सदस्यीय जिल्ला कमिटी बन्ने


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेकपा ( एकीकृत समाजवादी ) ले असोज २ गते शनिबार जिल्ला कमिटी रुपान्तरण तथा जिल्ला पार्टी  कार्यालय  शुभारम्भ  कार्यक्रम आयोजना गर्ने भएको छ ।    


एकीकृत समाजवादी अर्घाखाँचीले आगामी असोज २ गते शनिबार बिहान ११:३० बजे सन्धिखर्कको अन्नपूर्ण (पुरानो सन्ध्या) होटेलमा जिल्ला कमिटी रुपान्तरण तथा जिल्ला पार्टी  कार्यालय  शुभारम्भ  कार्यक्रम आयोजना गर्ने भएको हो ।    

उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा ( एकीकृत समाजवादी ) का केन्द्रिय  पोलिट ब्युरो  सदस्य , नेपालकै  पहिलो मार्क्सवादी अर्थसाश्त्री  एवम्  केन्द्रिय  मोर्चा संगठन  ईन्चार्ज  डा . विजय  पौडेल,  नेकपा ( एकीकृत समाजवादी ) का  युवा नेता    राजु गुरुङ्ग  लगायतका विशिष्ट अतिथिहरु आउने बताइएको छ । 

उता अर्घाखाँचीमा नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) को २०० सदस्यीय रुपान्तरण जिल्ला कमिटी बन्ने भएको छ । समानान्तर कमिटीका ७० जना एकीकृत समाजवादीमा विलिन भई अब २०० सदस्यीय जिल्ला कमिटी बन्ने भएको हो ।
 
यस्तै जिल्लामा  नेकपा (एमाले) छोडी पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम सहित ६ जनाले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।

पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम लगायत शितगंगा नगरपालिका वार्ड नम्बर ६ जुकेनाबाट निर्बाचित वार्ड सदस्य गोबिन्द प्रसाद पोख्रेल र शितगंगा नगरपालिका वार्ड नम्बर १३ सिमलपानीबाट निर्बाचित वार्ड सदस्य जिबलाल क्षेत्री, नेकपा एमाले लुम्बिनी प्रदेश सामान्य प्रशासन बिभाग सदस्य तथा पाणिनी गाउँपालिका वार्ड नम्बर ३ का निर्बाचित वार्ड सदस्य ओमप्रकाश भुसाल, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ की निर्बाचित महिला सदस्य शुमित्रा मुखिया, बाँगीका एमाले वार्ड कमिटी अध्यक्ष समेत रहेका मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीका वार्ड सदस्य डाल बहादुर चौहानले नेकपा एकीकृत समाजवादी पार्टीमा सन्धिखर्क स्थित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गरेका थिए ।   

अन्य समाचारहरु