बँदेलका लागि थापेको विद्युतीय पासोमा परेर बैतडीमा एकैघरका दुईजना दाजुभाइको मृत्यु

बँदेलका लागि थापेको विद्युतीय पासोमा परेर बैतडीमा एकैघरका दुईजना दाजुभाइको मृत्यु


गोकर्ण दयाल गोरखापत्र 

बैतडी, साउन २१ गते । बँदेलका लागि थापेको विद्युतीय पासोमा परेर बैतडीमा एकैघरका दुईजना दाजुभाइको मृत्यु भएको छ । बैतडीको सुर्नया गाउँपालिका–५ स्वाली घर भएका १८ वर्षीय अमृत चन्द र उनका दाजु २१ वर्षीय सन्तोष चन्दको करेन्ट लागेर मृत्यु भएको रौलेश्वर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक भानबहादुर चन्दले जानकारी दिनुभयो ।

बुधबार राति सवा ९ः बजेतिर दुई जनाको मृत्यु भएको प्रहरीलाई जानकारी आएकोे बताइएको छ । बँदेलका लागि थापेको विद्युतीय धरापमा परेर करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताउनुभयो ।

घटनाका बिषयमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट टोली खटाइएको बैतडी प्रहरीले जानकारी दिएको छ ।
बैतडीका पछिल्लो समय जङ्गली जनावर बँदेलले मकै बाली सखाप पार्न थालेको छ । नियम अनुसार बँदेल मार्न नपाईने भए पनि किसानले मकै बारीमा पासो थाप्ने गरेका छन् ।

ऐन कानुन अनुसार जङ्गली जनावर बँदेल मार्न नपाईने डिभिजन वन कार्यालय बैतडीका निमित्त प्रमुख श्यामसुन्दर माझीले बताउनुभयो । “बँदेल मार्न पाईँदैन” माझीले भन्नुभयो,“बालीनाली सखाप पारेको हो भने वडा कार्यालय र कृषि ज्ञानकेन्द्रको सिफारिस अनुसार प्रति किसान पाँच हजार रुपियाँ क्षतिपूर्ति पाईने व्यवस्था रहेको छ ।”

बैतडीका १० वटै स्थानीय तह किसानले लगाएको मकै बाली जङ्गली जनावर बँदले, बाँदर र दुम्सीले सखाप पार्न थालेका छन् । मकै जोगाउन किसानले अवैध रुपमा थापेको पासोमा परि मानवीय क्षति जस्ता अप्रिय घटनासमेत हुन थालेका छन् ।

अन्य समाचारहरु