अर्घाखाँचीका सबै ६ स्थानिय तहहरु बजेट ल्याउने तयारीमा

अर्घाखाँचीका सबै ६ स्थानिय तहहरु बजेट ल्याउने तयारीमा


लक्ष्मण घिमिरे  

सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाका स्थानियहरु बजेटको तयारीमा जुटेका छन् । जिल्लाका तिन नगरपालिका र तिन गाउपालिका गरी ६ स्थानियतह बजेट र निती तथा कार्यक्रम ल्याउने तयारीमा जुटेका हुन् ।


स्थानियतहहरुको बजेट निर्देशिकामा असारको १० गते निती कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने उल्लेख छ । सोही अनुरुप स्थानियतहहरुले बजेटको तयारी गरेका छन् । जिल्लाको सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, भुमिकास्थान नगरपालिका, पाणिनी गाउँपालिका, मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकाले निर्धारित समयमै बजेट ल्याउन तयारी थालेका हुन् ।
 
विभिन्न विषयगत समिती, संगसंगठन, राजनितीक दल लगायतसंग छलफलमा रहेका शितगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारीले बताए । ‘हामी छलफलमै छौं,‘उनले भने,‘विषयगतरुपमा छलफलमा गरिरहेका छौं ।’ समयमै बजेट आउने उनले बताए ।

भुमिकास्थान नगरपालिका र सन्धिखर्क नगरपालिकाले पनि निती तथा कार्यक्रममा ध्यान केन्द्रित गरेको छ । जिल्लाका तिन पालिकाहरुले पनी समयमै बजेट ल्याउने बताएका छन् । छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले विषयगत समितीहरु संग छलफलमा रहेको भन्दै कोरोना नियन्त्रणलाई बजेटमा विशेष प्राथमिकता दिने बताए । ‘सबै क्षेत्रलाई समेट्ने प्रयासमा छौं, उनले भने,‘अन्य क्षेत्रसंगै कोरोना नियन्त्रणलाई विषेश प्राथमिकता दिनेछौं ।’

स्थानीयतह प्रायले कोभिड–१९ रोकथाम, विदेशबाट फर्किएकालाई रोजगारी र कृषि क्षेत्रलाई प्राथमिकता दिई कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन् । साथै केही पालिकाले चालु आवको तुलनामा बजेट घटाउने छन् भने केहीले वृद्धि गर्ने जनाएका छन् ।

संघिय सरकारले यसवर्ष अर्घाखाँचीका ६ स्थानियतहलाई कुल दुई अर्ब ८० करोड ३२ लाख बजेट विनियोजन गरेको छ । ६ स्थानियतह मध्ये ३ वटा नगरपालकिाले कुल १ अर्ब ५७ करोड ४७ लाख रुपैयाँ बजेट पाएको छ । आर्थिक वर्ष २०७८/०७९ का लागी ३ वटा नगरपालकिामध्ये सबैभन्दा बढी सन्धिखर्क नगरपालिकाले बजेट प्राप्त गरेको छ । उक्त नगरपालिकाले ५९ करोड ५ लाख रुपैयाँ बजेट पाएको छ । त्यस्तै शितगंगा नगरपालिकाले ५२ करोड २० लाख र भूमिकास्थान नगरपालिकाले ४६ करोड २० लाख रुपैयाँ बजेट पाएको छ ।

जिल्लाका ३ वटा गाउँपालिकामा १ अर्ब २२ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सबैभन्दा बढी मालारानी गाउँपालिकाले ४४ करोड २४ लाख बजेट प्राप्त गरेको छ भने पाणिनी गाउँपालिकाले ४१ करोड ९५ लाख र छत्रदेव गाउँपालिकाले ३६ करोड ६६ लाख बजेट पाएको छ ।

संघिय सरकारले प्रदान गरेको बजेट, प्रदेश सरकारबाट प्राप्त बजेट र आन्तरिक बजेट समिश्रण गरेर स्थानियतहरुले आगामी असार १० गते बजेट ल्याउने छन् ।

अन्य समाचारहरु