पत्रकार महासंघ कतार शाखाले १६ औँ स्थापना दिवस मनायो

पत्रकार महासंघ कतार शाखाले १६ औँ स्थापना दिवस मनायो

टेक राज थापा 

नेपाल पत्रकार महासंघ कतार शाखाले १६ औँ स्थापना दिवस मनाएको छ । ‘शान्ति र लोकतन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता’ भन्ने मूल नाराका साथ शाखाले आफ्नो स्थापना दिवसका साथै मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व इद उल फित्रको अवसरमा शुभकामना आदानप्रदान तथा विविध कार्यक्रमहरु सम्पन्न गरेको हो ।

कतार शाखाका अध्यक्ष करिम बक्स मियाँको अध्यक्षता तथा नेपाली राजदूतावास दोहा कतारका द्वितीय सचिव प्रवीण भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

 महासंघका उपाध्यक्ष दिल कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा संस्थाको औचित्य तथा महत्वका बारेमा शाखाका अनुशासन विभाग संयोजक दीप जङ्ग शाह र संस्थाको बारेमा संक्षिप्त जानकारीसहित सामुदायिक पत्रकारिताको बारेमा संस्थापक सदस्य एवं सल्लाहकार क्रान्ति सिंहले प्रस्ट पारेका थिए ।

गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का विभिन्न पदाधिकारीहरू, कतारमा स्थापित सामाजिक, वैचारिक, सामुदायिक साङ्गीतिक लगायत बुद्धिजीवी तथा समाजसेवीहरूले शुभकामना मन्तव्य राखेका थिए । शुभकामना मन्तव्य दिने क्रममा विभिन्न रचनाहरु समेत वाचन गरिएको थियो । कार्यक्रममा खेमराज सुबेदीले पत्रकारहरूका समसामयिक समस्याहरूलाई समेटेर तयार पारेको छन्दात्मक ‘पत्रकार’ शीर्षकको कविता वाचन गरेका थिए ।

यस्तै, नेपाली राजदूतावासका द्वितीय सचिव तथा कार्यक्रमका प्रमुख अतिथि प्रवीण भट्टराई, संस्थापक सदस्य एवं सल्लाहकार क्रान्ति सिंह, संस्थापक सदस्य सरोज बास्तोला र पत्रकार तथा (सामाजिक व्यक्तित्व) रमेश ढकाललाई सम्मान गरिएको थियो । साथै दीप जङ्ग साह र सन्तोष केसीलाई प्रोत्साहन पत्रद्वारा सम्मानित गरिएको थियो ।

सम्बोधनका क्रममा प्रमुख अतिथि भट्टराईले कतारमा रहेर कलम चलाउने पत्रकारहरू सम्मानित भएकोमा खुसी व्यक्त गरे । राज्यबाट पटक–पटक सम्मानित भएपनि ४ वर्षको कतार बसाइँको क्रममा महासंघबाट सम्मानित भएकोमा आभार प्रकट गरे ।

प्रवासमा रहेर गरिने पत्रकारिताको जटिलता, विश्वसनीयता र भोलिको दिनमा आउँनसक्ने कठिन परिस्थितिहरूको सामना गर्दै कलम चलाउनु पर्ने बताए । कार्यक्रममा उनले समाचार लेखनमा सत्यता, निष्पक्षता हुनुपर्ने भन्दै कतारमा पासपोर्ट धरौटी राखेर पैसाको कारोबार नगर्न आग्रह गरे । उनले मेरो पासपोर्ट हरायो भन्दै ३ सय ७० रियालमा नयाँ पासपोर्ट बनाउन पाइने र ठगहरूले त्यो बाटो अवलम्बन गर्ने गरेको हुँदा सचेत रहन आग्रह गरे ।

संघका सचिव अर्जुन पौडेलले सहजीकरण गरेको कार्यक्रमको समापनका क्रममा सभाध्यक्ष मियाँले कतार शाखा पित पत्रकारिताबाट अलग रहेको बताए । कतारमा बसेर सामुदायिक तथा प्यासन पत्रकारिता गर्नेहरूलाई समेटेर गुणात्मक तरिकाले समाचारहरू संकलन तथा सम्पादन गर्न आग्रह गरेका थिए ।

अन्य समाचारहरु