एमाले अर्घाखाँची कार्तिक ६ र ९ गते हुने वार्ड र पालिकाको अधिवेशनमा जुटयो (यस्तो छ तयारी)

एमाले अर्घाखाँची कार्तिक ६ र ९ गते हुने वार्ड र पालिकाको अधिवेशनमा जुटयो (यस्तो छ तयारी)


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाल कम्युनिष्ट पार्टी (एमाले), जिल्ला कमिटी अर्घाखाँची कार्तिक ६ गते हुने वडा अधिवेशन र कार्तिक ९ गते हुने पालिका अधिवेशनको तीव्र तैयारीमा जुटेको छ ।
 

मंगलवार मदन आश्रित स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले), जिल्ला कमिटी अर्घाखाँचीका पदाधिकारीको बिस्तारित बैठकले ६१ वटै वडा र ६ वटै पालिकामा भव्यताका साथ अधिवेशन सम्पन्न गरेर नयाँ सन्देश दिने भ्एको हो ।
 
बैठकमा गाउँ-नगरपालिका कमिटीका प्रतिनिधिहरु सन्धिखर्कबाट श्रीकृष्ण भुसाल, शितगंगाबाट ओपि पाण्डे, भुमिकास्थानबाट मणि पौडेल, मालारानीबाट  शालिकराम आचार्य, छत्रदेबबाट  रामजी प्रसाद पाण्डे, पाणिनीबाट  कमलप्रसाद घिमिरेले स्थानीय कमिटीले गरेका संगठनात्मक गतिविधि, पार्टी सदस्यता नविकरण लगायतका समसामयिक विषयमा संक्षिप्त रिपोर्टिङ्ग गरेका थिए ।


यस्तै बैठकले पार्टीको आन्तरिक जीवनको महत्वपूर्ण पक्ष संगठित सदस्यता नविकरण विवरण केन्द्रबाट प्रमाणित भै आएपछि मात्र वार्ड र पालिका स्तरका अधिवेशनका प्रतिनिधिहरुको टुंगो लाग्ने भएको हुनाले दश हजार पार्टी सदस्यहरुको विवरण व्यवस्थित गरेर तत्काल प्रदेश कार्यालयमा पठाउने निर्णय गरेको छ ।
  
पार्टी केन्द्रीय कमिटीको निर्देशन बमोजिम देश भर एकै दिन अधिवेशन गर्ने क्रममा जिल्लामा पनि यही कार्तिक ६ गते ६१ वटै वडा र कार्तिक ९ गते ६ वटै पालिका कमिटीहरुको अधिवेशन सम्पन्न गर्न स्थानीय कमिटीलाई निर्देशन गरेकोछ । जसमा वार्ड भित्र रहेका सबै पार्टी सदस्यहरु वडा अधिवेशनका प्रतिनिधि हुने भएकाले वडा भित्रका सम्पूर्ण पार्टी सदस्यहरुलाइ उपस्थितिकालागि अनिवार्य पत्राचार गरी उपस्थित गराउनु पर्नेछ ।


साथै विधानको व्यवस्था अनुसार सबै वडा र पालिका कमिटीहरुमा अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ गरी ५ जना पदाधिकारी निर्वाचित हुनेछन । हाम्रो जिल्लामा वडा कमिटीको संख्या अधिकतम ३१ सदस्यीय र गाउँ तथा नगर कमिटीको अधिकतम संख्या ७५ सदस्यीय हुनेछ । कमिटीमा ३३ प्रतिशत महिला र पदाधिकारीमा कम्तीमा १ जना महिला अनिवार्य रुपमा समावेश गर्नुपर्नेछ ।  स्थानीय विशेषताको आधारमा कमिटीलाइ समावेशी बनाउने कुरामा विषेश रुपमा ध्यान दिनुपर्ने छ । 
यस्तै अधिवेशनको राम्रो तैयारी गर्ने,खुलासत्र र वन्दसत्र अलगअलग बनाएर अधिवेशनको आयोजना गर्ने, खुलासत्रमा हाम्रो पार्टीको संघीय, प्रदेश र स्थानीय सरकारबाट गरिएका राम्रा र लोकप्रिय कामहरुको प्रचार प्रसार गर्ने र वर्तमान सरकारले गरेका गलत कामहरुको विरोध गर्ने योजना बनाएको छ ।

साथै कार्तिक ९ गते हुने पालिका अधिवेशनकालागि प्रतिनिधि छनौटको काम कार्तिक ६ गते वडा अधिवेशन कै दिन निम्न मापदण्ड अनुसार गर्ने छन्:  

- खुला तर्फ –८ जना पार्टी सदस्य: १ जना प्रतिनिधि ( शेष ५ जना वा सो भन्दा माथि भए थप १ जना) 
- महिला तर्फ –५ जना पार्टी सदस्य: १ जना प्रतिनिधि ( शेष ३ जना वा सो भन्दा माथि भए  थप १ जना)
- दलित तर्फ –५ जना पार्टी सदस्य: १ जना प्रतिनिधि ( शेष ३ जना वा सो भन्दा माथि भए थप १ जना )
- जनजाती तर्फ –५ जना पार्टी सदस्य: १ जना प्रतिनिधि ( शेष ३ जना वा सो भन्दा माथि भए थप १ जना )
- मुस्लिम तर्फ –५ जना पार्टी सदस्य: १ जना प्रतिनिधि ( शेष ३ जना वा सो भन्दा माथि भए थप १ जना) ।

बैठक पछि जारी गरिएको सर्कूलरमा वडा र पालिका अधिवेशनलाई अत्यन्तै व्यवस्थित, मर्यादित, अन्तरविरोध रहित र भावनात्मक एकताको सन्देश दिने गरी सपन्न गर्नका लागि कार्तिक २ गते सबै पालिका कमिटीका बैठकहरु बसेर आवश्यक योजना गर्ने र पालिका-वडा इञ्चार्ज, सहइञ्चार्जको जिम्मेवारीमा रहनु भएका र सम्वन्धित भूगोलमा रहहनु भएका जिल्ला कमिटी सदस्य कमरेडहरु वडा अधिवेशन सम्पन्न गर्नका लागि सम्बन्धित वडामा खटन निर्देशन गरिएको छ ।  


यस्तै जिल्ला कमिटी र मातहतका कमिटीहरुले बनाएको योजना कार्यान्वयनमा आवश्यक सहयोग तथा सहजिकरण गरी अधिवेशनमा विशेष सहयोगीको भूमिका निर्वाह गर्न प्रदेश कमिटीबाट पालिकाको जिम्मेवारी पाउनु भएका प्रदेश कमिटी सदस्यहरु र जि.क.पदाधिकारीहरु मध्ये सन्धिखर्क नगरपालिका चेतनारायण आचार्य र केवी भुसाल, शितगंगा नगरपालिका रामजी प्रसाद घिमिरे र काशी आचार्य, पाणिनि गाउँपालिका जीवनारायण कोइराला र कुटमदिन अलि, मालारानी गाउँपालिका जनार्दन खनाल र दलबहादुर भट्टराई, भुमिकास्थान नगरपालिका तोजबहादुर रायमाझी, जाल्पा भुसाल र प्रेमनारायण गैरे, छत्रदेव गाउँपालिका पीताम्बर भुसाल र  प्रकाश ज्ञवालीलाई विशेष जिम्मा दिइएको छ ।
 
जिल्लामा रहेका स्थायी कमिटी, केन्द्रीय कमिटी, केन्द्रीय सल्लाहकार समेतका नेताहरुलाई आवश्यकता अनुसार प्रमुख अतिथि, विशेष अतिथिको लागि जिल्ला नेतृत्वले समन्वय गरेर पठाउने भएको छ । 

वडा र पालिका अधिवेशनमा थप ध्यानदिनुपर्ने कुराहरु प्रदेश कमिटीको मिति २०७८ कार्तिक १ गतेको परिपत्र –६ मा तोकिए अनुसार हुनेछन भनिएको छ । 

यस्तै बैठकले प्रदेश सभा निर्वाचन क्षेत्र अन्तरगत निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय समन्वय कमिटीको संयोजकमा ध्रुवकुमार पाण्डे (बल्कोट) र सचिवमा माधव पन्थी (छत्रगंज)लाई मनोनित गरेको छ ।
 
बैठकले विषेश पस्ताव पारित गर्दै अर्घाखाँची जिल्ला लगायत देशका विभिन्न भागमा केही दिनदेखि परेको अविरल वर्षाका कारण जनधनको ठूलो क्षति गरिरहेकोमा दुःख व्यक्त गर्दै तत्काल पीडित जनतालाई  उचित राहत र क्षतिपूर्तीको विषेश व्यवस्था गर्न, अवरद्ध सडकहरु खुलाउने व्यवस्था गर्न सरकार तथा सम्पूर्ण सरोकारवाला निकायहरु संग जोडदार माग गरेको छ । 


स्थायी कमिटीका सदस्य टोप बहादुर रायमाझी, पार्टी केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इञ्चार्ज चन्द्रबहादुर खडका, केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री, पार्टी प्रदेश संगठन कमिटीका सचिवालय सदस्य तथा प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरे,लगायतका नेताहरुले बैठकमा आफनो सुझाव तथा मन्तव्य व्यक्त गर्दै पार्टी अहिले इतिहासको गम्भीर मोडमा उभिएकोले यो संवेदनशील घडीमा ठूलो दुःख र कष्टका साथ निर्माण गरिएको पार्टीको संगठनलाई जोगाइ राख्नु पार्टीका इमान्दार र निष्ठावान नेता, कार्यकर्ताको अनिवार्य र निःशर्त कर्तब्य बनेको छ । यहीबेला स्थानीय कमिटीहरुको अधिवेशन सम्पन्न गर्ने ऐतिहासिक अभिभारा सहितको अभियानले पार्टीको आन्तरिक जीवनमा पार्टीलाइ कस्तो बनाउने र कसरी संचालन गर्ने भन्ने विषयमा स्थानीय कमिटीका अधिवेशनहरुले महत्वपूर्ण स्थान अ‍ेगटेको हुन्छ भन्दै पार्टीको आन्तरिक एकतालाई सबल बनाउन, विगतका आरोह–अवरोहबाट गम्भीर शिक्षा लिन र आसन्न चुनौतीहरुलाई सामना गर्न पार्टीलाई बैचारिक, राजनीतिक, संगठनात्मक र भावनात्मक रुपमा तयार राख्न सबैलाई सक्रिय योगदान गर्न निर्देशन गरेको पार्टी जिल्ला कमिटी उप सचिव प्रेमनारायण गैरेले बताएका छन् । 

पार्टी अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथिको रुपमा पार्टी स्थायी कमिटीका सदस्य टोप बहादुर रायमाझीको उपस्थिति रहेको थियो भने बैठकमा केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इञ्चार्ज चन्द्रबहादुर खडका, केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री, पार्टी प्रदेश संगठन कमिटीका सचिवालय सदस्य तथा प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरे, प्रदेश संगठन कमिटीका सदस्यहरु जनार्दन खनाल, पीताम्बर भुसाल, प्रकाश ज्ञवाली र केवी भुसालको आतिथ्यता रहेको बताइएको छ । 

अन्य समाचारहरु