दैलेखका सबै विद्यालयहरुमा धमाधम पठनपाठन शुरु, बालबालिकाहरु उत्साही बनेर विद्यालय जान थाले

दैलेखका सबै विद्यालयहरुमा धमाधम पठनपाठन शुरु, बालबालिकाहरु उत्साही बनेर विद्यालय जान थाले


कमल शर्मा गोरखापत्र

दैलेख, साउन ३१ गते । कोरोना सङ्क्रमणको जोखिमकाबीच जिल्लामा सामुदायिक र संस्थागत विद्यालय धमाधम विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरू सञ्चालनमा आउन थालेसँगै बालबालिकाहरु समेत उत्साही बनेर विद्यालय जान थालेका छन् । जिल्लाको नारायण नगरपालिकाले भने यस अघि पठनपाठन सुरु गरिसकेको छ । नगरपालिकाले साउन २२ गतेदेखि नै सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा ल्याएको हो ।

नारायण नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख हिमालयजंग शाहले सरकारले असार मसान्तबाट नयाँ शैक्षिक सत्र सुरु गरेदेखि विद्यालय बन्द भएको अवस्थामा जिल्लाको दुई वटा सामुदायिक रेडियोहरू रेडियो ध्रुवतारा र रेडियो ज्वालाबाट नगर रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो लामो समयदेखि बन्द रहेका नगरपालिकाभित्रका ३८ वटा सामुदायिक विद्यालयमा पठनपाठन सुरु गरिएको छ ।

नारायण नगरपालिका ७ मा रहेको वसन्त माध्यामिक विद्यालयका प्रधानाध्यापक धर्मराज खड्काले नारायण नगरपालिकाले विद्यालयमा स्वास्थ्य मापदण्ड अपनाउन प्रत्येक विद्यार्थी दुई सयका दरले रकम विद्यालयमा पठाएसँगै विद्यालय सञ्चालन गरेको बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई स्वास्थ्य सामग्रीहरू मास्क सेनीटाइजर व्यवस्थापन गरी एक बेन्चमा दुई जना विद्यार्थी राखेर अध्यापन गराइरहेको बताउनुभयो ।

जिल्लाका अन्य स्थानीय तहले समेत विद्यालय सञ्चालनको तयारी गरेको जानकारी दिएका छन् । जिल्लाको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले विद्यालयहरू भदौ १ गते बाट सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँले विद्यालयमा आवश्यक पर्ने मास्क सेनिटाइजार गाउँपालिकाले दिएर विद्यालय सञ्चालन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो हामीले विद्यालय सञ्चालन गर्दा सामाजिक दुरी कायम राख्छौ र विद्यालय नियमित रूपमा सञ्चालन गर्छौ ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले जिल्लामा आइतबार सम्म ३ हजार ४ सय ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको र ती मध्ये ३ हजार ४ सय ३७ जना निको भएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म कोरोना सङ्क्रमणबाट २९ जनाले ज्यान गुमाइसकेका छन् भने सक्रिय संक्रमितका सङ्ख्या ३२ जना छ । हाल दैलेख अस्पतालको आइसोलेसनमा ८ जना उपचाररत छन् ।

अन्य समाचारहरु