म चुरे अनि मेरो अस्तित्व (कविता)

म चुरे अनि मेरो अस्तित्व (कविता)


गंगा ज्ञवाली 
कीर्तिपुर काठमाडौं

हो म मक्किएको चुरे हूँ
म लुछीएको बगर हूँ
च्यातिएको पहाड हूँ
 म चिरिएको छु फोडिएको छु
थर्किएको छु रनकिएको छु
विकासको नाममा 
म माथि  अत्याचार भएको छ
म अस्तित्व विहिन हुन लागेको छु
म मुनिका मेरा सतह भासिदै छन्
नासिदै छन्
 मलाई गुन्द्रुक काे मोल सरह बनाइँदै छ
मेरो अस्तित्व मेटिदै छ किनकि ।
म मक्किएको छु
म भित्रका नसाहरू चुँडिए का छन्
म थर्किएको छु 
मलाई कौडीको मोल बनाइँदै छ
त्यसैले त म कतिबेला अस्तित्व विहिन हुन्छु
कतिखेर
मेरा नसा नदीमा परिणत हुन्छन्
मलाई थाहा छैन, 
त्यसको स्वरूप म स्वयं आकलन गर्न सक्दिन
किनकि मेरा नसा  र हड्डीहरु मेरो बसमा छैनन्
हो म मक्किएको चुरे हूँ
म थिचिएको भावर हूँ
म लुछिएको बगर हूँ
मैले पहाड फोर्दै छु
तराई डुबाउँदै छु 
हो 
म र मेरो बहाव लाई
कसैले रोक्न र छेक्न सक्ने छैन ।
मानव निर्मित विकास कति छिटो विनासमा परिणत हुनेछ
तब बल्ल थाहा हुने छ
चुरे दोहनको अर्थ 
लोभ ले लाभ लाभले विलाप।