गुनासो (लघुकथा)

गुनासो (लघुकथा)


विष्णु पन्थी (विनु)
  
म एक सुरमा हिँडिरहेकी थिएँ । शिक्षकको समय अड्कलेर हिड्नु पर्ने ।  कुनै दिन पनि   राम्रोसँग ओथाएको  खाना खान पाइने थिएन ।  आज पनि तात्तातो पेटनै जल्ने गरी खाएर द्रुर्त गतिमा बाटो नापिरहेकी थिएँ  ।   हतारमा एकै सुरमा थिएँ । अलिकति दुरी कायम हुदाँ कोलाहल मात्र   सुनिएको थियो । म जति नजिकीँदै गएँ त्यति स्पष्ट सुन्दै गएँ  । 

ऊ  रोइ रहेको थियो । अब पढ्छु के ! भयो ! दुख्यो ।  उउउउउ ! 

लौरोको आवाज डरलाग्दो तरिकाले बजिरहेको थियो ।  यो त दिल बहादुरको घर हो । मैले मनमनै भने । 

बुवाले भन्दै थिए ,"मैले तिमीहरुको लागि कति दुःख गरेको छु । वर्षौं मरुभूमिमा बसेर आएँ । रिजु सधै फस्ट हुन्छे । तँ ? बिहान भरी के  ---- -- बसिस् । "गधा- - --- -कति अप्रिय शब्द  उच्चारण भैरहेका थिए । मैले सुन्नै नसक्ने गरी ।

" नपिट्नु  त । कति सधै पिटिरहनु  हुन्छ ? नपढे भारी बोकेर खान्छ । यसैलाई दु:ख हो ।  सधै पिटेर तह लाग्यो र ? " आमाको जस्तो स्वर थियो । 

 यसै त ढिलो भैरहेको थियो ।  आज यो सभ्य शहरको भव्य महलको कोलाहलले फेरि मलाई नै  हेडसरको रुखो वचन खुवाउने भयो । म  हतार हतार दौडिएँ । दश मिनेट ढिलो भयो ।    हेडसरले देख्नुभयो ।  केही बोल्नु भएन । आज त बँचियो  । पचास प्रतिशत ढुक्क भएँ । मनको कुनामा पचास प्रतिशत लुकेको थियो ।

तीन बजेतिर पाले दाइले सूचना लिएर हस्ताक्षर गराउँदै आएको देखेँ । मेरो मुटु बाहिर नै भड्किन थालेको थियो ।
सूचना थियो , क्लास सकिएपछि मिटिङमा उपस्थित हुने ।

  मिटिङ सुरु भयो । सहायक हेडसरले  मिटिङको  एजेन्डा प्रस्तुत गर्नु भयो । 

म पाँच कक्षादेखि आठ कक्षासम्मको  डिपार्टमेन्ट  हेड थिएँ । मलाई नै सङ्केत गरेर  हेडसरले भन्नुभयो ,"हाम्रो बालमैत्री विद्यालय हो । केही गल्ती गरे हाम्रो बजारमा मसला बन्छ ।  आज सात कक्षाको अभिभावकको गुनासो छ । दिलबहादुरको बुवाले  । " फोन गरेर  भन्नुभयो," आज बालदिवसको दिन पनि तपाईंको शिक्षकले  विद्यार्थीलाई पटक पटक तँ  भनेर प्रश्न सोध्नु भयो । तपाईंको शिक्षक राम्रो भएनन् । राम्रो पढाइ पनि छैन ।अङ्ग्रेजी बोल्न नै जान्दैनन् ,तपाईंको शिक्षक ।  फिस मात्र महङ्गो ।" उहाँले मसँग धेरै गुनासो गर्नुभयो ।
 
(दिल बहादुर ! जसका कारण आज मेरो दश मिनेट ढिलो भएको थियो------ सर  । )