(राजु खनाल)
समय र सत्ताले
आज हामीलाई एकै ठाउँ उभ्याएको छ
हिजो दुश्मन ठान्ने एक अर्कालाई
आज एउटै घरको छतमुनी ल्याएको छ।
जसलाई हिजो म जङ्गलको स्याल भन्थे
आज उहीँ मेरै घरको बाघ भएको छ
हिजोको दुश्मन आजको साथी
चुनावको लट्ठी भएको छ
समय र सत्ताले
हामीलाई एकै ठाउँ उभ्याएको छ ।
अब चिन्ता छैन
कपाल फुलेकाले हार्ने छैन
युवा जोस र जागर,प्रतीक्षा गर
अर्को चुनावमा फुट्ने छौँ
तालमेल हुने छैन ।
हिजो बाघ एक्लै घुम्थ्यो
आज बाघै बाघको जङ्गल भैसक्यो
खानलाई आहारा छैन
भोकै बस्न सक्ने कोहि छैन
एकदिन त जङ्गल फुट्नेछ
बाघैलाई मारेर बाघ बन्ने समय आउनेछ ।
हिजोको दुश्मन आजको साथी
चुनावको लट्ठी भएको छ
समय र सत्ताले
हामीलाई एकै ठाउँ उभ्याएको छ ।