जलुकेको नौमुरे जलविद्युत् परियाेजना बेवारिसे, तिन दशकदेखि राजनिती नारामा सिमित

जलुकेको नौमुरे जलविद्युत् परियाेजना बेवारिसे, तिन दशकदेखि राजनिती नारामा सिमित



लक्ष्मण घिमिरे

जलुके, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।   लुम्बिनी प्रदेशका पाँच जिल्लालाई प्रत्यक्ष फाईदा पुग्ने अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ७ ( साविक जलुके-२) मा पर्ने नौमुरे बहुउद्देश्यीय जलविद्युत् परियाेजना सँधै चुनावी घोंषणापत्र र राजनितिक नारामा मात्र प्राथमिकतामा रह्यो ।


लामो समय खर्चेर विसं. २०४३ सालमा सर्भे भएको नेपालकै नमुना नौमुरे जलविद्युत परियोजना हालसम्म पनि सञ्चालनमा आउन नसक्दा परियोजना बेवारिसे बनेको छ । विभिन्न सरकारले नौमुरे बहुउद्देश्यीय आयोजनाको चर्चा र तयारी गरेको लामै समय भएपनि निर्माण प्रक्रियामा चाँसो नदिंदा आयोजनाले गति लिन सकेको छैन । तत्कालीन पञ्चायत सरकारले सस्तो लगानीमा आयोजना निर्माण गर्ने भन्दै विसं. २०४३ सालमै भैगोलिक परीक्षण, पानीको बहाव परीक्षण तथा सर्वेक्षण समेत गरेको थियो । २०४६ सालमा बहुदल आएपछी पटक–पटक चर्चा भएपनी आयोजनाको कामले गती लिएन ।

अर्घाखाँची र प्युठानको सिमानामा पर्ने मादी र झिमरुक नदीको संगम नौमुरे क्षेत्रमा सो आयोजना अगाडि बढाउने चर्चा चलेको लामो समय भएपनि काम अघि बढ्न सकेको छैन । तीन दशकअघि जलविद्युत निकाल्ने योजनासहित अध्ययन गरिएको नौमुरे परियोजना कागजमै सिमित छ ।

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर–७, ८ र प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर–३ को सिमानामा पर्ने यस आयोजनाको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल पहिलोपटक भारत भ्रमण जाँदा भारतले सो आयोजनालाई उपहारका रूपमा निर्माण गरिदिने वचन दिएको थियो । २०७१ साउनमा सरकारले सो आयोजना आफैं बनाउने घोषणा गर्दै पानी भारतलाई दिन नसक्ने बताएको थियो । भारतलाई नदिएर आफै सम्पन्न गर्ने निर्णय गरेको सरकारले नीति तथा कार्यक्रमै एक प्रदेश एक जलाशययुक्त जलविद्युत् आयोजना अन्तर्गत नौमुरेलाई घोषणा गरिएपनि अझैसम्म कार्यालय स्थापना बाहेकको काम अघि बढेको छैन ।

‘संघियता आउनु अँघीदेखी आयोजनाको काम अँघी बढ्छ भन्ने सुन्दै आएको छु, शितगंगा–७ का घनश्याम अधिकारीले भने,‘कार्यालय स्थापनासम्म भएको छ, डिपिआर पनी हुँदैछ भन्ने सुनेको छु ।’ आयोजनाका नाममा धेरैपटक छलकपट भईसकेकाले आयोजनाको काम अँघी बढ्छ भन्ने कुरामा विश्वस्त नभएको उनको भनाई छ ।


स्थापना भएपनी कार्यालयमा ताल्चा

स्थापना भएको चार महिना हुँदा पनी नौमुरे जलविद्युत आयोजनाको कार्यालय बन्द छ । यस क्षेत्रका पुर्व सांसद टोपबहादुर रायमाझी उर्जामन्त्री हुँदा गत चैत्र महिनामा कार्यालयको उद्घाटन गरिएको थियो ।

आयोजनाको चर्चा चलेको ३४ वर्षपछी साईड कार्यालय उद्घाटन गर्दै मन्त्री रायमाझीले लुम्बिनी प्रदेशकै ठुलो र गौरवका रुपमा यो योजनालाई अँघी सारिएको बताएका थिए । सात वर्षमा २ सय ८१ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित गत चैतमा उद्घाटन भएको आयोजनाको कार्यालय हालसम्म ताल्चा लगाएकै अवस्थामा छ । हेलिकप्टरमा तामझामका साथ आएर तत्कालिन ऊर्जामन्त्री रायमाझीले उद्घाटन गरेको नौमुरे बहुउद्देश्यीय आयोजनाको कार्यालय अहिले बन्द रहेको (सोही वडा) वडा नम्बर–७ का वडा अध्यक्ष मोहन पन्थीले जानकारी दिए ।

विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंहका अनुसार योजना अँगाडी बढाउने सुरसार भएपनी कोरोनाका कारण रोकिएको हो । नौमुरको विस्तृत अध्ययन, भवनको जग्गा छनोट, जग्गा खरिद, डुबान क्षेत्र पहिल्याउने लगायतका काम गर्ने लक्ष्य भएपनी कोरोनाका कारण त्यो तत्कालै सम्भव नभएको हो । ‘केही कामहरु अँघी बढेका छन्, प्राविधिक कुराहरुको तयारी चलेकै छ,उनले भने,‘अन्य काम कोरोना मत्थर भएपछी सुरु हुन्छ ।’

२८१ मेगावाट विद्युत उत्पादन

विद्युत विकास विभागले प्रस्ताव गरेको आयोजनामा तिन खण्डमा गरेर २ सय ८१ मेगावाट विद्युत उत्पादन गरिने छ । राप्ती नदीमा १ सय ६९ मिटर अग्लो बाँध बनाईने बहुउद्देश्यीय आयोजना अन्तर्गत तिन ओटा आयोजना निर्माण गर्न लागिएको हो ।

अर्घाखाँचीको शितगंगा–७ र ८ को सिमानामा बाँध निर्माण गर्ने तथा प्युँठानको सरुमारानी–३ मा विद्युतगृह निर्माण गरी २१८.३४ मेगावाट क्षमताको नौमुरे जलविद्युत आयोजना निर्माण गरिने छ । यस्तै शितगंगा–७ को लामातालमा रि–रेगुलेटिङ्ग बाँध बनाई ८ मेगावाटको लामाताल जलविद्युत आयोजना निर्माण गर्ने प्रस्ताव विद्युत विकास विभागले तयार गरेको छ ।


लामाताल जलविद्युत आयोजनाको टेलरेसबाट छोडिएको पानी प्रयोग गरेर शितगंगा नगरपालिकामा पर्ने लाहापे माथिको पहाड, लौरी सिताराको पहाड र धानखोला नजिक पहाडमुनी सुरुङ्ग बनाएर त्यस मार्फत कपिलवस्तुको शिवराज नगरपालिका–१, सुराई खोला नजिकै ५४.७ मेगावाटको सुराईनाका जलविद्युत आयोजना निर्माण गरिने प्रतिवेदन तयार पारिएको छ ।

८३ हजार हेक्टर जमिन सिंचाई

आयोजनाबाट विद्युत् उत्पादन साथै दाङ र कपिलवस्तुमा सिँचाइ सुविधा उपलब्ध गराउने योजना रहेको छ । नौमुरे बहुउद्देश्यीय आयोजनामार्फत वितरण हुने पानीले देउखुरी, बाँके, कपिलवस्तुमा गरी ८३ हजार ३०२ हेक्टर जमिनमा सिंचाइ सुविधा पुग्ने योजनाले लक्ष्य लिएको छ । देउखुरीको १० हजार ८ सय हेक्टर, बाँकेको ४२ हजार ७६६ हेक्टर र कपिलवस्तुको २९ हजार ७३६ हेक्टर जमिनमा सिंचाइ सुविधा पुग्ने छ । बहुउद्देश्यीय आयोजना निर्माणका लागि १ खर्व २८ अर्व बजेट अनुमान गरिएको छ ।

राप्ती नदीमा ठूल्ठुला सिँचाइ आयोजना सञ्चालित छन् । केही आयोजना सञ्चालनमै छन भने केही आयोजना निर्माणको चरणमा छन् । हिउँद महिनामा यी आयोजनामा पानीको अभाव हुने गरेको छ । नौमुरे बहुउद्देश्यीय जलाशय निर्माण गरेर विद्युत र सिँचाइको पानी अन्य जिल्लामा पु¥याउँदा तल्लो तटीय क्षेत्रमा पानीको अभाव हुने स्थानियको आँकलन छ । राप्ती नदीमा बड्कापथ सिँचाइ आयोजना, प्रगन्ना कुलो सिँचाइ प्रणाली, बराखुट्टी सिँचाइ प्रणाली, भानपुर मझमेरीया सिँचाइ प्रणाली लगायतका सिंचाई योजनामा काम भईरहेको छ ।

विद्युत विकास विभागको योजना अनुसार पहिलो ड्याममा वर्षाको पानी जम्मा हुनेगरी नौमुरेमा ठूलो जलाशय निर्माण गरिने छ । त्यो जलाशयबाट छोडिएको पानीलाई रि–रेगुलेटिङ्ग ड्यामको रुपमा लामातालमा अर्काे बाँध बाँधिने छ । त्यो बाँधले विद्युतबाट निस्केको पानीलाई सञ्चय गरेर राख्नेछ र त्यसपछि नियमित रुपमा नदीमा पानी छोडिनेछ । त्यो नियमित पानी छोड्ने कामले हिउँदमा पानी अभाव हुने समस्या सधैँका लागि अन्त्य हुने विद्युत विकास विभागमा महानिर्देशक नविनराज सिंहको भनाई छ ।

शितगंगाको लामातालमा ‘मिनि फेवाताल’ र माछापालन केन्द्र बनाउने अवधारणा समेत अँघी सारिएको छ । लामाताल समथर क्षेत्रमा पर्ने भएकाले त्यहाँ बोटिङ्गको राम्रो संभावना भएको शितगंगा नगरपालिकाका मेयर सुर्यप्रसाद अधिकारीले बताए । राष्ट्रिय गौरव र बहुउद्देश्यीय आयोजना भएकाले सरकार र निजी क्षेत्रको लगानीमा यसलाई पूर्णता दिनुपर्ने उनको भनाई छ । ‘निजीक्षेत्र तथा यहाँका स्थानियको लगानी समावेश गर्नुपर्छ,उनले भने,‘यो क्षेत्रका नागरिकको स्वामित्व हुनुपर्छ ।’ ठूलो आयोजना भएकाले नगरपालिकाले एक्लै सञ्चालन गर्न नसक्ने तर प्रदेश र संघिय सरकारसँग सञ्चालनका लागि आग्रह गरिरहेको उनको भनाई छ ।


बहुद्देश्यीय आयोजनाले प्यूठानको सरुमारानी गाउँपालिका, माण्डवी गाउँपालिका, ऐरावती गाउँपालिका, मल्लरानी गाउँपालिका, अर्घाखाँचीको शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका प्रत्यक्ष प्रभावित स्थानियतहको सूचिमा छन् । दाङको राप्ती गाउँपालिका, बंगलाचुली गाउँपालिका, गढवा गाउँपालिका अप्रत्यक्ष प्रभावित स्थानीयतहको सूचिमा रहेका छन् । कुल ३ हजार चारसय १४ वर्ग किलोमिटर क्षेत्र आयोजनाले प्रभावित हुनेछ ।

परियोजना सञ्चालनमा ल्याउन धेरै प्रयास भइरहे पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । ३४ वर्षअघि सर्भे थालेर बीचमै रोकिएको यो जैविक विविधता, पर्यावरण र पर्यटनका हिसाबले नमुना जलविद्युत परियोजना अन्तर्गत पर्दछ । सुख्खायाम र वर्षायाममा नदीको बहाव एउटै परिमाणमा हुने भएकाले विद्युत् निकाल्न झन्झटिलो छैन । परियोजनाको काम अँघी बढे यो क्षेत्रको विकास संगसंगै छिमेकी जिल्लाहरु समेत प्रत्यक्ष लाभान्वित हुनेछन् ।


अन्य समाचारहरु